विराटनगर । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका वसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले आइतबार मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएका हुन् । पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताए ।
मोरङ क्षेत्र नम्बर ६ बाट पटकपटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उनले अहिले सदनमा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएकाले पार्टीभन्दा माथि उठेर उनलाई जिताउनुपर्ने बताए ।
मोरङ ६ ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उनले मोरङ ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गरे ।
सबै एक भएर मोरङ ६ को समृद्धिलाई अगाडि बढाउने विनोद ढकाल मात्रै उपयुक्त पात्र भएको उनले बताए । आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस