२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङमा निर्वाचन तयारी अन्तिम चरणमा, ६ वटै क्षेत्रबाट मतगणना गरिने

आइतवार , फाल्गुण १७, २०८२

विराटनगर । मोरङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेका छन् ।

सोमबारदेखि मोरङका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरु खटिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिए । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम सम्पन्न भईसकेको छ । निर्वाचनमा खटिने ५ हजार ३४६ कर्मचारीले नियुक्तिपत्र लिईसकेका छन् ।

जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रवन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दंगालले बताए । मतदान सम्पन्न भएलगत्तै मतगणनाको योजना पनि अघि बढाईएको उनले बताए । उनले भने,‘तारजाली घेरेर, सिसि टिभी राखेर मतगणनाको लागि तयारी शुरु गरिएको छ ।’ यस पटक मोरङका ६ वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्वन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो ।

प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नं. ३ को बेलबारी ३ स्थित भगवती मावि, क्षेत्र नं. ४ को जनता नमुना मावि विराटनगर, क्षेत्र नं. ५ को सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालय र क्षेत्र नं. ६ को आदर्श माविमा मतगणना हुनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको दिनका लागि मतदाता, मतदान सामाग्री, मतपेटिक, कर्मचारीको सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना एकीकृत सुरक्षा याजना अनुसार परिचालन गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटुवालले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सामगाग्री र मतपेटिकाको सुरक्षाका लागि आवश्यक परेमा ‘व्यालेटको सुरक्षाको लागि वुलेट ’समेत प्रयोग गर्न सकिने बताए । ब्यालेट कसैले खोस्न खोजे गोली चल्ने उनले बताए । सुरक्षाका दृष्टिले अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरि बर्गिकरण गरिएका मतदान केन्द्रहरुमा सोही अनुसारको सुरक्षा प्रवन्ध गरिएको उनले बताए ।

मोरङका ११० जना उम्मेदवार मध्ये ६० जनाले मात्रै निर्वाचन खर्चका लागि बैंक खाता सञ्चालनमा ल्याएको जनाईएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट