काठमाडौं । कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापाले विशेष महाधिवेशन भएर कांग्रेसमा नयाँ नेतृत्व नआएको भए सर्लाही आउने आँट गर्न नसकिने खुलाएका छन् ।
सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन ?' मा बोल्दै सभापति तथा सर्लाही ४ का उम्मेदवार थापाले भने, ‘एक पटक मधेश जान्छु, त्यहाँको भूगोललाई बुझ्ने प्रयत्न गर्छु । त्यसपछि राष्ट्रिय नेतृत्व गर्नका निम्ति चाहिने ज्ञान प्राप्त हुन्छ होला भन्ने सोचेको थिएँ तर अघिल्लो पटक आँट गर्न सकिन । यो पटक पनि विशेष महाधिवेशन भएर नयाँ नेतृत्वमा नआएको भए मैले सोच्दै सोच्दिन थिएँ । ’
कार्यक्रममा बोल्दै उनले मधेशबाट निर्वाचन लड्नुको पछाडि आफ्नो व्यक्तिगत तर्क रहेको बताए । व्यक्तिगत हिसाबले पहाड र शहरको सबै अनुभव लिइसकेको र अब मधेश जानुपर्छ भन्ने लागेको साथै रणनीतिक हिसाबले पनि पार्टीका लागि राम्रो हुने देखेर मधेश रोजेको उनले स्पष्ट पारे ।
अहिले निर्वाचनको सिलसिलामा यहाँका टोलटोल घुम्दा यसअगाडि मधेशलाई आफूले छिपछिपे रुपमा मात्र बुझेको रहेछु भन्ने अनुभूति भएको उनको भनाइ छ । उनले भने, ‘यहाँको स्वास्थ्यको स्थिति यस्तो भयावह रहेछ कि कर्णाली भन्दा पनि पछाडि छ ।’
प्रतिक्रिया दिनुहोस