२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आफूले विगतमा गरेका कामको मूल्यांकन गर्न उम्मेदवार आलेको अपील

मंगलवार , फाल्गुण १९, २०८२

कैलाली। कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर आलेले मतदातासमक्ष आफूले विगतमा गरेका कामको मूल्यांकन गर्न अपील गरेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अवधि सोमबार रातिबाट सकिएसँगै उनले मंगलबार भावनात्मक अपील गर्दै मतदातालाई “छातीमा हात राखेर एकपटक सोच्न” आग्रह गरेका हुन् ।

प्रेमबहादुर आले, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवार बनेका छन्, यसअघि संघीय सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्रीसमेत हुन् ।

उनले आफू मन्त्री हुँदा जनताको प्रत्यक्ष सरोकारका विषयमा निर्णायक पहल गरेको दाबी गर्दै त्यसको मूल्यांकन गर्न मतदातालाई आग्रह गरे । आलेले धनगढी क्षेत्रको हवाई सेवामा सुधार ल्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताए ।

धनगढीबाट हुने हवाई यात्रालाई सर्वसुलभ बनाउन भाडा घटाउने पहल गरेको, धनगढी विमानस्थलमा कम्तीमा दुईवटा जहाज साँझसम्म बस्नुपर्ने व्यवस्था मिलाएको तथा सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा विस्तारका लागि आवश्यक समन्वय गरेको उनले उल्लेख गरे ।

उनका अनुसार बन्द अवस्थामा रहेका केही विमानस्थल पुन: सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको थियो । जसबाट दुर्गम क्षेत्रका नागरिकलाई सहज आवतजावतको सुविधा पुगेको दाबी उनले गरे ।

उम्मेदवार आलेले ‘वैज्ञानिक वन व्यवस्थापन’ का नाममा भइरहेको अनियमितता रोक्न आफूले पहल गरेको बताए । वन क्षेत्रको दोहन र बदमासी रोक्न सम्बन्धित निकायलाई कडाइ गर्न निर्देशन दिएको उनको भनाइ थियो ।

त्यस्तै, उनले काठमाडौँस्थित नारायणहिटी दरबार संग्रहालय क्षेत्र र पशुपतिनाथ मन्दिर आसपासका सार्वजनिक जग्गामा हुने अवैध ‘सेटिङ’ तथा अनियमितता नियन्त्रणमा समेत भूमिका खेलेको दाबी गरेका छन् । उनले सही कुराका लागि आफ्नै दलको नेतृत्वविरुद्ध समेत उभिन पछि नहटेको उल्लेख गर्दै आफू सधैं सिद्धान्त र जनहितको पक्षमा रहेको दाबी गरे ।

पूर्वमन्त्री समेत रहेका आलेले कोरोना महामारीको कठिन समयमा व्यक्तिगत रूपमा ५० लाख रुपैयाँ खर्च गरेर अक्सिजन सिलिन्डर र मास्क खरिद गरी डोटी अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीलाई सहयोग गरेको स्मरण गराए । संकटको घडीमा जनताको साथमा उभिनु आफ्नो कर्तव्य ठानेर उक्त सहयोग गरेको उनले बताए ।

कोराना महामारीका बेला स्वास्थ्य सामग्री अभाव भइरहेका अवस्थामा तत्काल सहयोग पुर्‍याउन सकेकोमा आफू सन्तुष्ट रहेको उनले बताए । उम्मेदवार आलेले आफू सधैं गरिब, विपन्न र बिरामी नागरिकको साथमा उभिँदै आएको दाबी गरेका छन् ।

आगामी दिनमा अझ बढी प्रतिबद्ध भएर जनताको सेवा गर्ने वाचा गर्दै उनले संकटका बेला जनताको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, “मिलेका अवसरमा सधैं जनताकै लागि काम गरेको छु, अझै गर्नेछु । अवसर पाए फेरि पनि जनताको सेवामा समर्पित रहनेछु ।”

प्रचारप्रसार अवधि सकिएसँगै उम्मेदवारहरूले घरदैलो र औपचारिक सभा बन्द गरेका छन् । अब मतदाताले फागुन २१ गते आफ्नो मतमार्फत उम्मेदवारको विगतको काम र भविष्यको प्रतिबद्धताको मूल्यांकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट