२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

२९ वर्षकै उमेरमा दोस्रोपटक संसद यात्राः जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा उदाएकी निशा डाँगी

आइतवार , फाल्गुण २४, २०८२

झापा । मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचार बढेको अनुभूति भएपछि लोकसेवाको तयारी गर्दै आएकी निशा डाँगी चार वर्षअघि राजनीतितर्फ आकर्षित भइन्। व्यक्तिगत जीवन सुधार्न सरकारी जागिर खोज्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भइन्।

निराशालाई आशामा बदल्ने अठोटसहित राजनीतिमा होमिएकी २९ वर्षीया डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवारका रूपमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ४५ हजार ६८० मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

डाँगीको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो। २०७९ सालको निर्वाचनमा २५ वर्षको उमेरमा समानुपातिकतर्फ निर्वाचित हुँदै उनी मुलुककै कान्छी सांसद बनेकी थिइन्। समानुपातिक सांसदका रूपमा संसद्मा रहँदा उनले युवाहरूका समस्या र मुद्दालाई सदनमा निरन्तर उठाउँदै आएकी थिइन्।

सक्रियता र क्षमताका कारण जनताको विश्वास जितेकी डाँगीलाई यसपटकको निर्वाचन परिणामले प्रत्यक्ष निर्वाचित नेताका रूपमा थप स्थापित गरेको छ। भद्रपुर नगरपालिका–२ की बासिन्दा उनी हाल रास्वपाको केन्द्रीय सदस्यसमेत हुन्।

अघिल्लो प्रतिनिधिसभामा उनले पार्टीको सचेतकको जिम्मेवारी पनि निर्वाह गरेकी थिइन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी डाँगी भीमबहादुर र देवीमाया डाँगीकी छोरी हुन्। उनको जन्म २०५३ मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो। पूर्णकालीन राजनीतिमा आउनुअघि उनी पाँच वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील थिइन्।

डाँगीका अनुसार पत्रकारिताको अनुभवले समाज, नागरिकका समस्या र राजनीतिको भित्री पाटो बुझ्न मद्दत गरेको थियो। “पत्रकारिताले मलाई समाज र नागरिकका वास्तविक समस्या बुझ्न सहयोग गर्‍यो,” उनी भन्छिन्।

निर्वाचन अभियानका क्रममा जनताको घरदैलोमा पुग्दा उनले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकता बुझ्ने अवसर पाएको बताउँछिन्। भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको आलोचना गर्दै आएकी उनी जनताले आफूहरूलाई सुशासन र इमान्दार नेतृत्वका लागि मत दिएको बताउँछिन्।

“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो,” डाँगी भन्छिन्, “मप्रति व्यक्त भएको जनविश्वासलाई खेर जान दिने छैन, देश र जनताको हितमा काम गर्नेछु।”

युवा जोश, शैक्षिक क्षमता र संसदीय अनुभवको संयोजन भएकी डाँगीबाट झापा–१ का जनताले मात्र होइन, परिवर्तन चाहने देशभरका युवाले पनि ठूलो अपेक्षा राखेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट