काठमाडाैं । रास्वपाका वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिएको बधाईको जवाफमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शुभकामना दिएपछि त्यसको जवाफ दिँदै शाहले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य गर्ने बताएका हुन् ।
प्रधानमन्त्री मोदीले सोमबार सभापति रवि लामिछाने र बालेन शाहसँग टेलिफोन संवाद गरी बधाई दिएका थिए ।
शाहले मोदीकै एक्स ह्यान्डलमा जवाफ दिँदै लेखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदीज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’
उनले लगातार दोस्रो पटक टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको भन्दै बधाई समेत दिएका छन् । ‘लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु’, उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस