काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले आफू र आफ्नो पार्टीले जनताको फैसला पूर्ण रूपमा स्वीकार गर्ने बताएका हुन्।
अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। उनले समर्थकहरूको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन्।
ओलीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताएका छन्। उनले पार्टी सधैँ जनताकै बीचमा रहने र जनताकै हितका लागि काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा झापा ५ बाट उम्मेदवारी दिएका थिए । उनलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले भारी मतान्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस