काठमाडौं । निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । पोखरा महानगरका पूर्व मेयरसमेत रहेका थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
हृदयघात हुनासाथ थापालाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो । उक्त बैठकमा थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस