काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने प्रक्रिया सहज बनाउन आज सचिवालय बैठक बोलाएको छ। प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक बहुमत हासिल गरेको रास्वपाले नयाँ सरकार गठन र नेतृत्व चयनको गृहकार्यलाई तीव्रता दिएको हो ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बस्न लागेको यस बैठकले मुख्यतया दुईवटा एजेण्डामा छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । निर्वाचन आयोगले आइतबारभित्र समानुपातिकतर्फका ५७ जना सांसदको अन्तिम सूची बुझाउन पत्राचार गरेसँगै रास्वपाले उम्मेदवारहरूको नाम टुङ्गो लगाउन लागेको हो । आजको सचिवालय बैठकले सिफारिस गर्ने नामहरूलाई पछि बस्ने केन्द्रीय समिति बैठकले अन्तिम रूप दिनेछ ।
रास्वपाको विद्यमान विधानको धारा ६६ मा संसदीय दलको नेता चयनका लागि पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्नुपर्ने व्यवस्था छ। यो प्रावधान व्यावहारिक नभएको र राजनीतिक दल सम्बन्धी ऐनसँग समेत बाझिएकाले यसलाई संशोधन गर्न लागिएको हो । विधान संशोधन भएपछि झापा–५ बाट निर्वाचित वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनिने बाटो खुल्नेछ, जसले उनलाई प्रधानमन्त्री बन्ने संवैधानिक आधार (धारा ७६–१) प्रदान गर्नेछ।
स्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भएको समझदारी अनुसार आगामी मन्त्रिपरिषद् सानो र छरितो (१५ देखि २० जनासम्मको) हुनेछ । विज्ञताका आधारमा मन्त्रीहरू चयन गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नीति रास्वपाले लिएको छ।
सभापति लामिछाने हाल अस्वस्थ भई निवासमै आराम गरिरहेकाले बैठकको निश्चित समय र स्थान भने तय हुन बाँकी छ। यो बैठकपछि रास्वपाले औपचारिक रूपमा सरकार गठनको दाबी पेस गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस