काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाट आफू र अन्य नेताहरूबारे अनर्गल लाञ्छना र घृणायुक्त अभिव्यक्ति फैलिरहेको आरोप लगाएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, “हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा हुनुहुन्छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता गर्नुभएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको सबैमा जानकारी छ। यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।”
उनी भनेका छन्, “पार्टीका माथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूको बारेमा अनर्गल लाञ्छना लगाउने, मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामक नक्कली फेसबुक आईडी यस कार्यमा सक्रिय रहेको छ ।”
भट्टराईले पार्टीको एकता जोगाउनु, बहुआयामिक रूपान्तरण गर्नु, र गुमेको जनविश्वास पुनः आर्जन गर्नु सबैको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै उपयुक्त समयमा स्थापित प्रक्रिया र तथ्यसहित छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले पार्टीभित्र मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच अन्त्य हुनुपर्ने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस