काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज मुलुकको ४५ औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो १२ः३४ बजे विशेष समारोहका बीच शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहणलगत्तै नवनियुक्त प्रधानमन्त्री शाह दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पद बहाली गर्नेछन् । सोही समारोहमा नयाँ मन्त्रिपरिषद्का केही सदस्यहरूको समेत शपथ हुने जनाइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेपछि संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम एकल बहुमतको सरकार गठन हुन लागेको हो । रास्वपाले बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरेको थियो । झापा क्षेत्र नं. ५ बाट ऐतिहासिक मतान्तरले विजयी भएका शाहको नेतृत्वमा मुलुकले पहिलो पटक युवा कार्यकारी प्रमुख पाउन लागेको हो ।
यसपटकको शपथ ग्रहण समारोहलाई मौलिक र सांस्कृतिक स्वरूप दिने तयारी गरिएको छ । समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकहरूद्वारा स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुहरूबाट अष्टमंगल पाठ गरिनेछ । राष्ट्रपति कार्यालयका अनुसार समारोहमा राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
लामो समयको राजनीतिक अस्थिरतापछि स्पष्ट बहुमतसहित सत्तामा पुगेका शाहका सामु सुशासन कायम गर्ने, आर्थिक सुधार गर्ने र नागरिकका तीव्र अपेक्षाहरू पूरा गर्ने मुख्य चुनौती रहेका छन् । नयाँ सरकारको गठनसँगै देशको नीति र शासनशैलीमा आउने परिवर्तनलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा उच्च चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस