काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुअघि नै आफ्नो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकका लागि ऐतिहासिक निर्णयहरूको तयारी तीव्र पारेका छन् । प्रधानमन्त्रीको सचिवालय र मुख्यसचिव सुमन अर्यालको समन्वयमा सबै मन्त्रालयहरूबाट तत्काल गर्न सकिने जनमुखी कामहरूको विवरण संकलन गरिएको छ।
प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई तत्काल र छिटोछरितो रूपमा गर्न सकिने कामको संक्षिप्त विवरण पठाउन पत्राचार गरेको थियो । सोही आधारमा प्राप्त प्रस्तावहरूमध्येबाट बालेनको विज्ञ टोली र निजामती कर्मचारीहरूले उपयुक्त योजनाहरू छनोट गरिरहेका छन् । जनमानसमा सिधै प्रभाव पार्ने र नतिजा देखिने प्रस्तावहरूलाई प्राथमिकता दिइएको जनाएको छ ।
स्रोतका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रसँग जोडिएका जनचासोका विषयहरूमा पनि मन्त्रालयहरूले १–२ पेजको संक्षिप्त प्रस्ताव पठाएका छन्। यीमध्ये केही महत्वपूर्ण बुँदाहरू आजको पहिलो मन्त्रिपरिषद् बैठकबाटै पारित हुने सम्भावना छ।
प्रधानमन्त्री बालेन शाहले आजै शपथ लिएलगत्तै सिंहदरबार पुगेर पहिलो मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नेछन्। सोही बैठकले बालेन सरकारको आगामी दिशा र प्राथमिकता तय गर्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस