काठमाडौं । शनिबार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।
भक्तपुरबाट पक्राउ गरी सिधै अस्पताल पुर्याइएका ओलीलाई मिर्गौला प्रत्यारोपणको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुमा अस्पतालको ‘रेड जोन’ स्थित २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ नेफ्रोलोजी विभागका विशेषज्ञ डा. रविन नेपाली नेतृत्वको टोलीले उनको प्रारम्भिक स्वास्थ्य जाँच गरेको थियो ।
अस्पताल स्रोतका अनुसार ओलीको रगत जाँच, भिडियो एक्सरे र अन्य आवश्यक परीक्षण गरिएपछि उनलाई थप उपचार र निगरानीका लागि अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ । ५०१ नम्बर बेडसम्म लैजाँदा उनलाई आफ्नै निजी गाडीमा चढाएर पुर्याइएको थियो ।
ओली भर्ना भएको भवन र ५०१ नम्बर बेड वरपर सादा पोसाकका र बर्दीधारी प्रहरीको बाक्लो उपस्थिति रहेको छ । एमालेका शीर्ष नेताहरू र कार्यकर्ताहरूको अस्पताल परिसरमा भिड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ । ओलीलाई कति दिन अस्पताल राखिन्छ भन्नेबारे चिकित्सकहरूले केही खुलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस