२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

असन्तुलित बजेट रोक्छौँ : मुख्यमन्त्री कार्की

सोमवार , चैत्र १६, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि असन्तुलित बजेटको वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने बताएका छन् । प्रदेश योजना आयोगले सोमबार विराटनगरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विगतमा भएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रुपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरी बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ परिवेश अनुसार सिक्दै र हामीलाई पनि परिवर्तित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित ढंगले सञ्चालन गरी यसपटकको बजेटमा योजना बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाले कुनै काम गरेन भन्ने आरोप भएपनि प्रदेशले धेरै काम गरेको बताउँदै भएका कामहरुलाई देखिने गरी यसपटक अघि बढ्नुपर्ने आवश्यकता रहेकाले देखिनेगरी काम गर्नका लागि आग्रह समेत गरे ।

गत वर्षको जस्तो बजेट निर्माणमा भएका कमजोरीहरु यसपटक नदोरिने र जिल्ला तहबाट नै बजेट इन्ट्री गर्ने प्रणाली विकास गरिएको उनले बताए । मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा हाम्रा विकासका गति अघि बढ्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सबै कुराहरुलाई समीक्षा गरेर नयाँ ढंगले अघि बढ्न आग्रह गरे ।

कोशी प्रदेशको योजना आयोगले सोमबार आयोजना बैंक सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । कोशी प्रदेशका सबै प्रदेश सभा सदस्यहरुलाई राखेर योजना छनोट र योजना बैंकमा योजना इन्ट्री गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिन कार्यक्रम आयोजना गरेको हो ।

सोही कार्यक्रममा प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पसहरूसँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । परम्परागत रूपमा घरपरिवारमा उत्पादन गरिँदै आएको घरेलु मदिरा रक्सीको उत्पादन गुणस्तर र परीक्षण एवं ब्रान्डिङ विषयका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता समेत गरेको छ । प्रदेश योजना आयोग मार्फत यो सम्झौता गरिएको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । वैशाख ५ गतेभित्र कोशी प्रदेशमा योजना बैंकमा आयोजना प्रविष्ट गर्ने तयारी रहेको जानकारी समेत दिए । कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैंकलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभामुख, विभिन्न मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट