काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरुलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई बधाई तथा शुभकामना दिदै नेता खड््काले संसदमा आफ्ना सांसदहरुको भूमिका प्रभावकारी र अनुकरणीय रहने बताए ।
पार्टीको इतिहास र आदर्शका साथै नेपाल र नेपाली जनताको हितका लागि संसदमा प्रखर रुपमा प्रस्तुत हुन समेत उनले सुझाव दिए ।
नेता खड्काले संख्याको हिसाबले केहि कम भएपनि नेपालको लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिङ्गो धरोहर बोकेर कांग्रेसका सांसदहरुको भूमिका निकै महत्वपूर्ण हुने धारणा राखे ।
यसअघि पार्टीले अघि सारेको संविधान संशोधनको मूल मुद्दालाई समेत सशक्त ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले सांसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले राष्ट्रका मुद्दाहरुलाई सदैव प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे । उनले पहिले जस्तै सांसदहरुसँगको छलफल निरन्तर हुने भन्दै संसद बाहिर रहेका नेताहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आवश्यक परेको खण्डका संसदमा आउने महत्वपूर्ण बिषयमा बिज्ञहरुसँग समेत छलफल गराउने बताए ।
प्रतिक्रिया दिनुहोस