काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साधारणा सभा तथा निर्वाचनको नयाँ मिति तय गरेको छ । महासंघले यसअघि स्थगित भएको साधारणा सभा तथा निर्वाचनको नयाँ मिति तय गरेको हो ।
महासंघले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख २१ र २२ गतेका लागि महासंघले ६०औं वार्षिक साधारणसभा बोलाएको छ । जसले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।
यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएको थियो ।
नयाँ कार्यतालिकाअनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ । यस्तै, निर्वाचन कार्यक्रम भने वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ ।
महासंघभित्रको शक्ति संघर्ष, विधानको व्याख्या र सदस्यता विवादले साधारणसभा स्थगित भएको थियो ।
अदालतको आदेशपछि भने महासंघले १५ दिनभित्रै विवाद समाधान गर्दै निर्वाचनको वातावरण तयार पारेको छ । यससँगै उद्योगी–व्यवसायीहरू चुनावी गतिविधिमा केन्द्रित भएका छन् ।
महासंघले साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।
साथै, महासंघले सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस