२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ऊर्जा उत्पादनमार्फत अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ : उद्योगी महेश जाजू

‘नेपालसँग सबैभन्दा ठूलो सम्भावना जलविद्युत क्षेत्रमै छ’

आइतवार , जेठ १०, २०८३

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले ऊर्जा उत्पादनमार्फत अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने सम्भावना रहेको बताएका छन् । 

उनले अब जसरी पनि स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्योगलाई सहुलियतपूर्ण दरमा विद्युत उपलब्ध गराउनुपर्ने बताए । यसो गर्न सके उद्योगमा लगानी बढ्ने, उत्पादन लागत घट्ने र नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने उनको भनाई छ । 

विराटनगरका उद्योगी–व्यवसायीहरूले स्वदेशी उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारलाई सुझाव दिएका हुन् । नेपालमा उपलब्ध प्रचुर जलविद्युतलाई सस्तो दरमा उद्योग क्षेत्रलाई उपलब्ध गराएर औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उद्योगी–व्यवसायीहरूले बताएका छन् ।

जाजू एसियन थाइ फुड्ससहित विभिन्न उद्योग सञ्चालन गरिरहेका छन् । नेपालको जलविद्युत नै उद्योग प्रवृद्धनको सबैभन्दा ठूलो आधार बन्न सक्ने उनको भनाई छ । उद्योग सञ्चालनका लागि कच्चा पदार्थ जत्तिकै महत्वपूर्ण विद्युतीय ऊर्जा भएको उनले बताए । 

नेपालमा धेरैजसो उद्योगका कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने बाध्यता भए पनि विद्युत भने नेपालमा प्रशस्त उपलब्ध हुने सम्भावना रहेको र त्यसको आपूर्ति पनि सजिलै हुने उनले उल्लेख गरे ।

उनले हाल नेपालले अतिरिक्त विद्युत भारत र बंगलादेशमा निर्यात गरिरहेको भए पनि त्यसबाट अपेक्षाकृत लाभ प्राप्त नभएको बताए । 

उनले बिजुली बेच्दा बिजुलीको मात्र पैसा आउने र त्यही बिजुली नेपालकै उद्योगमा खपत गर्दा उत्पादन वृद्धि हुने, रोजगारी सिर्जना हुने र नेपालमै राजश्व थपिने उनले बताए ।

उनले नेपालसँग सबैभन्दा ठूलो सम्भावना जलविद्युत क्षेत्रमै रहेको उल्लेख गर्दै भविष्यमा १० हजार मेगावाटभन्दा बढी अतिरिक्त विद्युत विदेश निर्यात गर्नुभन्दा स्वदेशी उद्योगलाई प्राथमिकताका साथ सस्तो दरमा उपलब्ध गराउनु मुलुकको हितमा हुने बताए । 

उद्योगी जाजूका अनुसार सिमेन्ट, डन्डी, स्टिल, प्लास्टिक, धागो, जुट, चाउचाउ, बिस्कुट र साबुनजस्ता उत्पादनमूलक उद्योगका लागि विद्युत अहिले मुख्य कच्चा पदार्थसरह बनेको छ । उनले उद्योगका लागि सस्तो र सहुलियतपूर्ण विद्युत नीति ल्याउन सके नयाँ उद्योग खुल्ने, रोजगारी बढ्ने, युवाको विदेश पलायन घट्ने र अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।

उनले आयातमा निर्भरता घटाउन स्वदेशी उत्पादन र निर्यातमुखी उद्योग विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । विश्वव्यापी राजनीतिक अवस्था, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कच्चा पदार्थ महँगिएकाले स्वदेशी उद्योग विकासबिना अर्थतन्त्र मजबुत नहुने उनको भनाइ छ ।

जाजूले नेपालमा उत्पादित बिजुली विदेश बेच्नुभन्दा देशभित्रै बढी खपत गर्नुपर्ने बताएका छन् । साथै धार्मिक पर्यटन, कृषि, वन, ऊर्जा र निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

विदेशी लगानी आकर्षित गर्न उद्योगमैत्री नीति, कर छुट र सहुलियत आवश्यक रहेको उल्लेख गर्दै उनले सस्तो जलविद्युत उपलब्ध गराउन सके नेपाल लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ