काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै छन् । उता, पार्टीका वरिष्ठ नेता तथा परराष्ट्र मन्त्री शिशिर खनाल भने तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल भारतीय विदेश मन्त्री एस. जयशंकर को निमन्त्रणामा भारत जान लागेका हुन्। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा दुवै देशका साझा चासो र प्राथमिकताका विषयमा छलफल हुने जनाइएको छ।
यसअघि सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत गएका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च भारतीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।
भारत बसाइका क्रममा लामिछानेले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका थिए। रास्वपाका दुई शीर्ष नेताको लगातार भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस