काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियान बिहीबार मध्यरातबाट सकिएको छ । पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा देशभरका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ५२ हजार २०९ सदस्यमध्ये राति १२ बजेसम्म ५ लाख ७८ हजार ६ सय २२ जनाले वडा सभापतिमार्फत एनसिआइडी प्राप्त गरिसकेका छन् ।
त्यस्तै, १ लाख ५४ हजार ३ सय १ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी वडा सभापतिमार्फत सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी भएको कांग्रेसले जनाएको छ ।
पार्टीका अनुसार इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई भने थप व्यवस्थित ढंगले निरन्तरता दिइनेछ ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानको म्याद अब थप नहुने स्पष्ट गरेको छ । यद्यपि नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने बताइएको छ।
प्रतिक्रिया दिनुहोस