काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना कालदेखि नै सक्रिय रहेका मोहनबहादुर थापाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकाछन् ।
पार्टी निर्माण, संगठन विस्तार तथा नीति–नियम निर्माणमा सुरुदेखि नै सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै थापाले केन्द्रीय कमिटीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
उनले रास्वपालाई देशव्यापी रूपमा स्थापित गर्न ७२ जिल्लाका विभिन्न पालिका तथा स्थानीय तहसम्म पुगेर संगठन निर्माण र जनसम्पर्क अभियानमा निरन्तर खटिएको बताएका छन् । पार्टीको संगठन सुदृढीकरण, व्यवस्थापन तथा जनतामाझ पार्टीका एजेन्डा पुर्याउने अभियानमा आफ्नो महत्वपूर्ण योगदान रहेको उनको दाबी छ ।
पार्टी सभापति रवि लामिछाने तथा नेतृत्वसँग सहकार्य गर्दै रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न हजारौं कार्यकर्तासँग मिलेर काम गरेको थापाले बताएका छन् ।
करिब ३५ वर्ष अमेरिका बसोबास गरेपछि देश र पार्टीको सेवामा समर्पित हुने उद्देश्यसहित नेपाल फर्किएको उल्लेख गर्दै उनले थप जिम्मेवारीका साथ पार्टीलाई अझ सशक्त बनाउन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको स्पष्ट पारे ।
“पार्टीको संस्थागत विकास, सुशासनको प्रवर्द्धन र जनअपेक्षा पूरा गर्ने अभियानमा अझ प्रभावकारी भूमिका खेल्ने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको छु,” थापाले भने ।
सन् २०२२ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र थापालाई कुशल संगठक तथा सक्रिय अभियन्ताका रूपमा हेरिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस