काठमाडौँ। नेकपा (एमाले) का सचिव महेश बस्नेतले थर र नाम मिलेकै आधारमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानमा तानिएकाे भन्दै आपत्ति जनाएका छन् । सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर मुद्दालाई प्रभावित पार्ने उद्देश्यले तथ्यहीन र भ्रामक प्रचारबाजी भइरहेको भन्दै उनले सामाजिक सञ्जालबाट असन्तुष्टी पाेखेका छन् ।
लामो समय युरोप बसेर नेपाल फर्की गाईपालन र कृषि फार्म सञ्चालन गरिरहेका बुटवलका सफल व्यवसायी शशी पौडेलको नाममा रहेको ३५ बिघा जग्गालाई एमाले उपाध्यक्ष पौडेलसँग जोडिएको प्रति बस्नेतले खण्डन गरेका छन् । केवल थर "पौडेल" भएकै आधारमा उक्त जग्गा उपाध्यक्ष पौडेलको भनी प्रचार गर्नु सरासर गलत भएको उनकाे भनाई छ ।
त्यसैगरी, मालपानी तथा चुन्नुप्रसाद पौडेलको 'श्रीराम टोबाको' मा रहेको र दीपक भट्टको कम्पनीमा लगानी गरिएको भनिएको ३० करोड रुपैयाँ बराबरको शेयरलाई समेत सम्पत्ति शुद्धीकरण कसुरसँग जोडेर भ्रम छरिएको बस्नेतको भनाइ छ। उक्त शेयरलाई समेत उपाध्यक्ष पौडेलकै सम्पत्ति हो भनी बजारमा ल्याइएका समाचारहरू तथ्यहीन र मनगढन्ते रहेको उनले स्पष्ट परेका छन् ।
"सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर मुद्दाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अपुष्ट सूचना र नाम-थर मिलेकै भरमा व्यक्तिहरूलाई जोडेर भ्रम फैलाउनु उचित हुँदैन। यस्ता विषयमा तथ्य, प्रमाण र कानुनी आधारलाई नै प्राथमिकता दिनुपर्छ," उनले भनेका छन् । बस्नेतले सञ्चारमाध्यम र सरोकारवालाहरूलाई कुनै पनि समाचार सम्प्रेषण गर्दा नाम र थरको समानतालाई मात्र आधार नबनाई, ठोस तथ्य र कानुनी प्रमाणलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस