काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट १ खर्ब १४ अर्ब उठाएको छ । पछिल्लो समयममा आबद्ध योगदानकर्ताहरूको संख्या र योगदानकर्ता बढेका छन् ।
गत असार ११ गतेसम्मको तथ्यांक अनुसार कोषमा कुल १ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ । हालसम्म कोषमा कुल २३ हजार २१७ रोजगारदाता र ३० लाखभन्दा बढी योगदानकर्ता सूचीकृत भइसकेका छन् ।
कोषको लगानी कार्यविधिअनुसार संकलित रकम सरकारका ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, पूर्वाधार आयोजना, स्वास्थ्य, आवास तथा ऊर्जा क्षेत्रलगायत दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा परिचालन गर्न सकिने व्यवस्था छ। कार्यविधिले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा नवीकरणीय ऊर्जा परियोजनामा प्रत्यक्ष कर्जा वा सहवित्तीयकरणमार्फत लगानी गर्न सकिने व्यवस्था छ ।
लगानीअघि परियोजनाको वित्तीय तथा प्राविधिक सम्भाव्यता, जोखिम, नगद प्रवाह र धितोको विस्तृत मूल्याङ्कन (ड्यु डिलिजेन्स) अनिवार्य गरिएको छ । एउटै क्षेत्रमा अत्यधिक लगानी नहोस् भनेर लगानी विविधीकरणको सिद्धान्त पनि कार्यविधिमा समावेश गरिएको छ ।
कार्यविधिअनुसार निश्चित सीमाभन्दा माथिका लगानी निर्णय सञ्चालक समितिको स्वीकृतिपछि मात्रै कार्यान्वयन हुने व्यवस्था छ ।
योगदान रकम निरन्तर बढ्दै गएपछि कोषले यसलाई बैंक तथा वित्तीय संस्थामा मात्र सीमित नराखी लगानी विविधीकरणको नीति लिएको कोषका प्रवक्ता कृष्ण अधिकारीले बताए ।
उनका अनुसार कोषले जलविद्युत्, विद्युत् प्रसारण लाइन, सौर्य तथा अन्य नवीकरणीय ऊर्जा परियोजनामा कर्जा तथा सहवित्तीयकरणमार्फत लगानी गर्ने अन्तिम तयारी गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदा देशको आर्थिक विकासमा ठोस योगदान पुग्ने भएकाले लगानी विस्तार गर्न थालिएको उनले बताए । हाल प्राप्त चार वटा ऊर्जा प्रस्तावमध्ये दुई वटामाथि सघन छलफल भइरहेको उनको भनाइ छ । कोषले सरकारी स्वामित्वका कम्पनीहरूसँग मिलेर जलविद्युत्, नवीकरणीय ऊर्जा र स्वदेशमै क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने परियोजनामा लगानी गर्ने नीति बनाएको छ ।
यसबाहेक पर्यटन, निर्माण, सूचना प्रविधि, सेवा र कृषि क्षेत्रमा पनि संस्थागत कर्जा दिने व्यवस्था गरिएको छ । तर, २० मेगावाटभन्दा कम क्षमताका, पर्याप्त स्वपूँजी नभएका र प्रसारण पूर्वाधार सुनिश्चित नभएका निजी आयोजनामा भने लगानी नगर्ने कोषको स्पष्ट नीति छ । हाल जम्मा भएको धेरै रकम बैंकमा रहँदै आएको छ ।
जसले गर्दा कोषको आम्दानी बैंकबाट प्राप्त हुने ब्याजमा सीमित रहँदै आएको छ । बैंकबाहेक विभिन्न क्षेत्रमा लगानी गर्दा कोषको आम्दानी वृद्धि भई लगानीकर्ताको सुविधा वृद्धि हुने अपेक्षा गरिएको छ ।
कोषले योगदानकर्ताको रकमको सुरक्षा पहिलो प्राथमिकतामा राख्दै दीर्घकालीन र स्थिर प्रतिफल सुनिश्चित गर्ने उद्देश्य लिएको जनाएको छ ।
सामाजिक सुरक्षा कोष (SSF) ले लगानी गर्न सक्ने क्षेत्रहरू
नेपाल सरकारको ऋणपत्र (विकास ऋणपत्र, ट्रेजरी बिल, नागरिक बचतपत्र)
बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप (क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा)
संगठित संस्थाहरूको सेयर (नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सार्वजनिक कम्पनीहरूको सेयर)
डिबेन्चर र बन्ड (बैंक तथा विभिन्न प्रतिष्ठित कम्पनीहरूले जारी गरेका ऋणपत्रहरू)
सामूहिक लगानी कोष (म्युचुअल फन्डका इकाइहरू)
जलविद्युत तथा ऊर्जा क्षेत्र (हाइड्रोपावर र नवीकरणीय ऊर्जा आयोजनाहरू)
पूर्वाधार विकास आयोजना (सडक, पुल, पर्यटकीय पूर्वाधार, र विमानस्थल निर्माण)
उत्पादनशील क्षेत्र (व्यावसायिक कृषि, चिस्यान केन्द्र, र स्वदेशी उद्योगहरू)
घर जग्गा व्यवसाय (कोषको आफ्नै प्रयोजन वा व्यावसायिक प्रयोजनका लागि भवन निर्माण)
योगदानकर्ता सापटी तथा कर्जा (कोषमा आबद्ध श्रमिकहरूका लागि घर कर्जा, शैक्षिक कर्जा, र विशेष सामाजिक कर्जा)
प्रतिक्रिया दिनुहोस