गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जङ्गली बँदेल नियन्त्रण गर्न बारीमा थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ । आफ्नै श्रीमानले बारीमा प्रवाह गरेको करेन्टमा पर्दा ६० वर्षीया हुमकला भण्डारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले बालीनाली नष्ट गर्ने बँदेल नियन्त्रणका लागि आफ्नो घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट नाङ्गो तार तानेर करेन्ट प्रवाह गरी राखेका थिए। सोही बारीमा जाने क्रममा करेन्ट लागेर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन् ।
करेन्ट लागेर अचेत भएकी हुमकलालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो । तर, उपचारकै क्रममा आज बिहान ३ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जङ्गली जनावर मार्ने उद्देश्यले गैरकानुनी रूपमा बारीमा करेन्ट प्रवाह गर्ने मृतकका श्रीमान् भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । नेपालमा जङ्गली जनावरबाट बाली जोगाउन यसरी थापिने अवैध करेन्टका कारण बर्सेनि मानवीय क्षति हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस