२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

मुखको स्वास्थ्य बिग्रिँदा मुटुदेखि पेटसम्म असर पर्न सक्छ: डा. जुही अग्रवाल

आइतवार , आषाढ २१, २०८३

काठमाडौं । दाँत दुखेपछि मात्रै दन्त चिकित्सककहाँ जाने प्रवृत्ति नेपालमा अझै पनि व्यापक छ। तर मुख तथा दाँत रोग विशेषज्ञ डा. जुही अग्रवालले दाँतको समस्या दुखाइबाट मात्र सुरु नहुने बताइन्।

उनका अनुसार दाँतमा देखिने सामान्य कालो दाग, सानो कीरा, गिजाबाट रगत आउने वा मुख गन्हाउनेजस्ता लक्षणलाई समयमै बेवास्ता गर्दा रुट क्यानाल गर्नुपर्ने, दाँत निकाल्नुपर्ने तथा शरीरका अन्य अंगको स्वास्थ्यमा समेत असर पर्ने अवस्था आउन सक्छ।

उनका अनुसार मुखको स्वास्थ्य र शरीरको समग्र स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। मुखमा प्लाक, टार्टर वा गिजाको संक्रमण लामो समयसम्म रहँदा त्यसको असर मुटु, पाचन प्रणालीलगायत शरीरका अन्य अंगमा पनि पर्न सक्छ। त्यसैले मुखको स्वास्थ्यलाई शरीरको अन्य स्वास्थ्यजत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ।

aas.jpeg

दाँतमा सुरुमा देखिने सामान्य कीरालाई बेवास्ता गर्नु ठूलो गल्ती हुने उनले बताइन्। सुरुवाती अवस्थामा सामान्य फिलिङबाट निको हुने समस्या उपचार नगर्दा रुट क्यानाल गर्नुपर्ने, पस बन्ने, संक्रमण फैलिने र अन्ततः दाँत नै निकाल्नुपर्ने अवस्था आउन सक्छ। दाँत गुमेपछि राम्रोसँग खाना चपाउन नसक्दा पाचन प्रणालीमा असर पर्ने, ग्यास्ट्रिक तथा अन्य पेटसम्बन्धी समस्या देखिन सक्ने उनको भनाइ छ।

प्रत्येक व्यक्तिले कम्तीमा छ–छ महिनामा एक पटक नियमित दन्त परीक्षण गराउनुपर्ने सुझाव उनले दिइन्। ऐनामा हेर्दा दाँतमा कालो दाग, प्वाल, पहेँलो टार्टर, गिजाबाट रगत आउने वा मुख गन्हाउने समस्या देखिए घरमै औषधि खाने वा आफैं निको हुने प्रतीक्षा नगरी तुरुन्त दन्त चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताइन्।

नेपालमा अझै पनि “दुधे दाँत त फेरिन्छ” भन्ने सोचका कारण धेरै अभिभावकले बालबालिकाको दाँतको उपचार गराउन ढिलाइ गर्ने गरेको उनको अनुभव छ। तर दुधे दाँतमा भएको संक्रमणले पछि आउने स्थायी दाँतलाई समेत असर गर्न सक्ने भएकाले बालबालिकाको दाँतको उपचारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उनले जोड दिइन्।

yss.jfif

खाना खाइसकेपछि मुख राम्रोसँग कुल्ला नगर्ने बानी नेपाली समुदायमा धेरै देखिने कमजोरी भएको उनको भनाइ छ। बिहान र राति ब्रस गरे पुग्छ भन्ने सोचका कारण खाना वा टाँसिने परिकारका कण दाँतमा लामो समयसम्म टाँसिएर बस्ने र त्यसले प्लाक, टार्टर, कीरा तथा गिजाको रोग निम्त्याउने उनले बताइन्। विशेषगरी राति ब्रस नगरी सुत्ने बानीले दाँत बिग्रिने जोखिम बढाउने उनको भनाइ छ।

ब्रस गर्ने तरिकामा पनि धेरैले गल्ती गर्ने गरेको उनले बताइन्। तेर्सो रूपमा जोडले ब्रस गर्दा दाँतको घाँटी घिस्रिने, संवेदनशीलता बढ्ने र गिजामा क्षति पुग्ने समस्या देखिने भएकाले हल्का दबाबका साथ सर्कुलर वा स्वीपिङ मोसनमा ब्रस गर्नु उपयुक्त हुने उनको सुझाव छ।

गिजाबाट रगत आउने, मुख गन्हाउने वा दाँतमा पहेँलो टार्टर जम्ने समस्यालाई सामान्य रूपमा लिन नहुने उनले बताइन्। यस्ता लक्षण गिजाको रोगको संकेत हुन सक्ने र समयमै उपचार नगरे दाँतसमेत गुम्न सक्ने अवस्था आउने उनको भनाइ छ।

ss.jfif

आजकल दाँत सिधा बनाउन ब्रेसेस लगाउनेको संख्या बढिरहेको उल्लेख गर्दै उनले उपचारपछि चिकित्सकले सिफारिस गर्ने रिटेनर नियमित प्रयोग नगर्ने गल्ती धेरै बिरामीले गर्ने गरेको बताइन्। कम्तीमा छ महिनादेखि एक वर्षसम्म रिटेनर प्रयोग नगरे दाँत फेरि पुरानै अवस्थामा फर्किन सक्ने उनको भनाइ छ।

ज्येष्ठ नागरिकको उपचारमा भने सकेसम्म प्राकृतिक दाँत जोगाउने प्रयास गरिने उनले बताइन्। उपचारअघि बिरामीको मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरेर उपचार योजना बनाइने उनको भनाइ छ।

jo.jpeg

दाँत दुख्दा लौंग, नुनपानी वा अन्य घरेलु उपायले केही समय राहत दिन सक्ने भए पनि दाँतको रोग निको पार्न नसक्ने उनले स्पष्ट पारिन्। त्यसैले घरेलु उपचारमा भर नपरी दन्त चिकित्सकको परामर्श लिनुपर्ने उनको सुझाव छ।

स्वस्थ दाँतका लागि दिनमा दुई पटक सही तरिकाले ब्रस गर्ने, हरेक पटक खाना खाइसकेपछि मुख राम्रोसँग कुल्ला गर्ने, छ–छ महिनामा नियमित दन्त परीक्षण गराउने तथा सानो समस्या देखिए पनि समयमै उपचार गराउने बानी बसाल्नुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट