मुगु । मुगुको खत्याड गाउँपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । ६ करोड ९१ लाख ९७ हजार ३६१ रुपैयाँ ३३ पैसा लागतमा निर्माण भइरहेको भवन २०८४ साल भदौ ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खत्याड गाउँपालिका र डीसीएस–नागार्जुन–तीर्थ जेभी बीच २०८२ फागुन ११ गते निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार गाउँपालिकाको स्थायी तथा आधुनिक प्रशासनिक भवन निर्माणको जिम्मा उक्त निर्माण कम्पनीले पाएको हो ।
निर्माण सम्पन्न भएपछि हाल विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका गाउँपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एउटै भवनबाट प्रवाह हुनेछन् । यसले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै कर्मचारीका लागि व्यवस्थित र सुविधा सम्पन्न कार्य वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाही ले प्रशासनिक भवन गाउँपालिकाको दीर्घकालीन आवश्यकता र गौरवको आयोजना भएको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै निर्माण सम्पन्न गरिने विश्वास व्यक्त गरे।
उनले भने, यो भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र सेवाग्राही मैत्री हुनेछ । समयमै गुणस्तरीय निर्माण सम्पन्न गराउन गाउँपालिकाले नियमित अनुगमन गरिरहेको छ ।”
भवनको डिजाइन आधुनिक प्रशासनिक संरचना अनुसार तयार गरिएको छ । भवनमा पर्याप्त कार्यालय कक्ष, सभा हल, सेवाग्राही प्रतीक्षालय तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ भने भविष्यमा सेवा विस्तारलाई समेत ध्यानमा राखेर निर्माण भइरहेको छ ।
निर्माण कार्यको प्राविधिक अनुगमन गरिरहेका इन्जिनियर महेश महता ले भवन स्वीकृत डिजाइन, स्टिमेट तथा प्राविधिक मापदण्ड अनुसार निर्माण भइरहेको जानकारी दिए ।
उनले भने, हालसम्मको निर्माण कार्य सम्झौता, स्वीकृत डिजाइन र स्टिमेट अनुसार अघि बढिरहेको छ । निर्माण सामग्रीको गुणस्तर, संरचनागत सुरक्षा तथा प्राविधिक मापदण्डको नियमित परीक्षण र अनुगमन भइरहेको छ । निर्माण कम्पनीलाई तोकिएको समयसीमा भित्र गुणस्तरीय भवन सम्पन्न गर्न आवश्यक प्राविधिक निर्देशनसमेत दिइएको छ ।
हाल भवनको संरचनागत निर्माण कार्य तीव्र गतिमा भइरहेको र सम्झौता अनुसार तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस