काठमाडौं । सरकार गठन भएको तीन महिनाभन्दा बढी समयपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज निजी क्षेत्रका प्रतिनिधिसँग पहिलोपटक औपचारिक छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा निजी क्षेत्रका नेतृत्वकर्ता सहभागी हुनेछन्।
छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ। नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि निमन्त्रणा आएको पुष्टि गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटघाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाको संयोजनमा हुन लागेको हो। छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौती, लगानी वातावरण सुधार, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे विचार–विमर्श हुने जनाइएको छ।
सरकारले हालै आगामी आर्थिक वर्षको बजेट तथा त्यसअनुसारको मौद्रिक नीति सार्वजनिक गरिसकेको सन्दर्भमा प्रधानमन्त्रीले निजी क्षेत्रका सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्न लागेका हुन्। बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने, उत्पादन तथा रोजगारी वृद्धि गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल बढाउने विषय पनि छलफलको एजेन्डामा रहने अपेक्षा गरिएको छ।
उद्योगी–व्यवसायीहरूले बजेट सार्वजनिक हुनुअघि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको पहल गरेका थिए। तर, लामो समयसम्म भेटघाटको अवसर नपाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। निजी क्षेत्रले आर्थिक गतिविधिमा आएको सुस्तता, घट्दो लगानी, वित्तीय पहुँच, कर प्रशासन, नीतिगत स्थायित्व तथा व्यवसाय सञ्चालनका व्यावहारिक समस्याबारे सरकारसँग उच्चस्तरीय छलफलको माग गर्दै आएको थियो।
प्रधानमन्त्री बनेपछि बालेनले निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक रूपमा संवाद गर्न लागेको यो नै पहिलो हो। बालेनसँगकाे भेटलाई सरकार र निजी क्षेत्रबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा पनि हेरिएको छ।
प्रतिक्रिया दिनुहोस