काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट औपचारिक निवेदन दर्ता गराएका छन्।
बर्तौलाले बिहीबार आयोगको कार्यालय हरिहर भवन, पुल्चोकमा आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर २०८२ साल भदौ २३ र २४ गतेको घटनासम्बन्धी आयोगको निर्णय नम्बर १७७ संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण तथा असंवैधानिक रहेको दाबी गर्दै उक्त सिफारिस सच्याउन माग गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार यसअघि आयोगसँग माग गरिएका कागजात तथा प्रतिवेदनका प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको भन्दै उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि माग गरिएको छ।
साथै, उक्त प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गर्यो, कुन अंश हटायो वा थप गर्यो, त्यसको आधार र कारणसहितका सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन निवेदनमार्फत माग गरिएको बर्तौलाले बताएका छन्।
यस्तै, यस विषयमा आयोगबाट थप कुनै छानबिन, अनुसन्धान वा अध्ययन भएको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा कागजातका प्रमाणित प्रतिलिपिसहित अन्य सम्बन्धित कागजात पनि उपलब्ध गराउन निवेदनमार्फत माग गरिएको उनले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस