काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनलाई प्राथमिकता र स्पष्ट उद्देश्यबिना अघि बढाउन खोजिए त्यसले मुलुकलाई पुनः राजनीतिक अन्योल र अस्थिरताको दिशातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् । उनले सरकारले संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक नलिई सतही र अपरिपक्व ढंगबाट अघि बढाएको आरोपसमेत लगाए।
बिहीबार पार्टीद्वारा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्नु उचित नहुने स्पष्ट पारे । उनका अनुसार अहिलेको आवश्यकता संविधानका सबै प्रावधान फेरबदल गर्ने होइन, देखिएका विशिष्ट समस्या पहिचान गरी तिनको समाधानका लागि मात्रै संशोधन प्रक्रिया अघि बढाउनु हो।
उनले विगतका राजनीतिक उपलब्धि र लामो संघर्षबाट स्थापित भएका संवैधानिक व्यवस्थालाई एकैपटक खुला छलफलमा लैजाँदा मुलुक फेरि गम्भीर विवाद र अस्थिरताको चपेटामा पर्न सक्ने बताए। ‘आठ–दश वर्षको राजनीतिक अभ्यासबाट बल्ल स्थिर हुन थालेका विषयलाई फेरि एकैपटक संशोधनका लागि खोलियो भने नेपाल ठूलो आगोको भुङ्ग्रोमा पर्न सक्छ,’ उनले भने।
संविधान संशोधनका क्रममा प्राथमिकता निर्धारण नगर्दा विभिन्न राजनीतिक दल, स्वार्थ समूह, जातीय तथा क्षेत्रीय शक्तिले आफ्ना–आफ्ना एजेन्डा अघि सार्ने जोखिम रहेको उनको भनाइ थियो। त्यसले राज्यको स्वरूप, शासकीय प्रणालीदेखि नागरिकका मौलिक अधिकारसम्मका विषय विवादमा तानिन सक्ने र देशलाई अनिश्चित दिशातर्फ लैजान सक्ने उनले बताए।
यस सन्दर्भमा थापाले भारतीय संविधानका प्रमुख निर्माता भीमराज आङदेम्बेले प्रस्तुत गरेको को अवधारणासमेत स्मरण गर्दै संवैधानिक प्रक्रियालाई जिम्मेवारीपूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिए । संविधान निर्माणका क्रममा राष्ट्रियता र जनअधिकारजस्ता आधारभूत विषयबाहेक अन्य विषय संशोधन गर्न सकिने व्यवस्था भएको भन्दै त्यसलाई जे पनि गर्न पाइन्छ’ भन्ने अर्थमा बुझ्न नहुने उनको भनाइ थियो ।
सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलप्रति पनि थापाले असन्तुष्टि व्यक्त गरे । सरकारले कुनै स्पष्ट समस्या पहिचान नगरी संशोधनको बहस सुरु गरेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसले प्रारम्भदेखि नै उक्त कार्यदलमा प्रतिनिधि नपठाउने निर्णय गरेको स्मरण गराए ।
वैशाख १४ गते नै पत्रमार्फत आफूहरूले त्यसबारे सरकारलाई जानकारी गराएको र अन्य दललाई समेत पुनर्विचार गर्न आग्रह गरेको उनले बताए । अहिले अन्य राजनीतिक दलले पनि आफ्ना प्रतिनिधि फिर्ता बोलाएको उल्लेख गर्दै कांग्रेसको प्रारम्भिक चिन्ता सही साबित भएको उनको दाबी थियो।
थापाले संसद्को वर्तमान अंकगणितलाई आधार बनाएर संविधान संशोधन गर्न खोज्नु पनि गलत हुने बताए। ‘सरकार गठनका लागि बनेको संसद्को बहुमतलाई संविधानसभा सरह प्रयोग गर्न खोज्नु उचित हुँदैन,उनले भने।
यद्यपि संविधान संशोधनको विषयमा कांग्रेस सरकारसँग टकराव चाहँदैन भन्ने स्पष्ट पार्दै उनले सहकार्यकै माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे। नेपालको संविधान निर्माणको मुख्य नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै उनले संविधानप्रति आफ्नो दलको विशेष जिम्मेवारी रहेको बताए ।
हामी सरकारलाई अप्ठेरो पार्न चाहँदैनौँ, मिलेरै जान चाहन्छौँ। तर उत्तेजना वा पूर्वाग्रहका आधारमा संविधान छुनु हुँदैन, उनले भने ।सरकार संविधान संशोधनको बाटोमा अलमलिन खोजे कांग्रेसले आवश्यक परे सच्याउने भूमिका खेल्ने दाबी पनि उनले गरे।
थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक चरित्र संविधानका आधारभूत स्तम्भ भएकाले ती विषयमा कांग्रेसले कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारे ।
साथै शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, खुला समाज र मानवअधिकारजस्ता संवैधानिक मूल्यहरूलाई अझ सुदृढ बनाउन सकिने भए पनि तिनलाई कमजोर बनाउने कुनै प्रयास स्वीकार्य नहुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस