२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

अपडेट : पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मंगलवार , आषाढ ३०, २०८३

चितवन । पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको अवरोध हटेपछि सवारी आवागमन पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको केराबारी र तुइनखोला क्षेत्रमा खसेको ठूलो पहिरो डोजर तथा अन्य आवश्यक उपकरण परिचालन गरी हटाएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका हुन् ।

सडक डिभिजन कार्यालयले सडक खुले पनि वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायमै रहेको जनाएको छ । सम्भावित दुर्घटनाबाट बच्नका लागि चालकहरूलाई लेन अनुशासनको पूर्ण पालना गर्दै सीमित गतिमा सुरक्षित रूपमा सवारी चलाउन र यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन सडक डिभिजनले विशेष आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ खण्ड दुईतर्फी सुचारु भए तापनि अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने अन्य सबै प्रमुख नाकाहरूमा सवारी आवागमन अझै पनि ठप्प छ । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले लामो दूरीका सवारीसाधनहरूलाई विभिन्न बसपार्क तथा होल्डिङ सेन्टरहरूमा नै रोकेर राखेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू नागढुंगा, साँगा र फर्पिङ हुँदै गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा लगाइएको रोक कायमै छ । हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएकोमा स्थिति थप प्रतिकूल बनेपछि दिवाकालीन सवारीसाधनलाई समेत सञ्चालन अनुमति दिइएको छैन ।

यता बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा पानीको बहाव बढेको र मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो बगेका कारण सो मार्ग पनि अझै ठप्प छ । यस्तै फर्पिङ–फाखेल–सिस्नेरी सडकखण्ड बन्द गरिएको छ भने कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

प्रहरीले निरन्तरको वर्षाका कारण सडकको अवस्था निकै दयनीय र जोखिमपूर्ण भएकाले यात्रु र सवारीसाधनको सुरक्षाका लागि यो अस्थायी कदम चालिएको जनाएको छ । विभिन्न राजमार्गमा खसेको पहिरो पन्छाउने प्रयास भइरहे पनि निरन्तरको वर्षाले अवरोध सिर्जना गरिरहेको छ । सडकको अवस्था र जोखिमको विस्तृत विश्लेषण गरेपछि मात्र अन्य नाकाहरू सञ्चालन गर्न दिने वा नदिनेबारे थप निर्णय लिइने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट