आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड-एससिटीसँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो।
खल्ती कार्ड्स खल्तीको एकीकृत कार्ड प्लेटफर्म हो, जसअन्तर्गत आगामी दिनहरूमा प्रयोगकर्ताको आवश्यकता र विभिन्न प्रयोगका उद्देश्यलाई मध्यनजर गर्दै थप डिजिटल तथा भौतिक कार्ड सेवाहरू सार्वजनिक गर्ने योजना रहेको छ।
‘डिजिटल भिसा कार्ड को सुरुवातसँगै अब खल्ती प्रयोगकर्ताहरूले बिना भौतिक कार्ड मोबाइलबाटै तत्काल सुरक्षित ई–कमर्स कारोबार गर्न सक्नेछन्। यो कार्ड प्रयोग गर्दा खल्ती वालेटमा रहेको मौज्दात रकमबाट सहज रूपमा भुक्तानी गर्न सकिनेछ।
साथै, कार्ड प्रयोग गर्दा खल्ती वालेटमा पर्याप्त मौज्दात नभएको अवस्थामा भुक्तानी प्रक्रिया पूरा गर्न लिंक गरिएको प्राथमिक बैंक खाताबाट रकम स्वतः भुक्तानी हुने नयाँ सुविधा समेत उपलब्ध गराइएको छ।
डिजिटल भिसा कार्ड सेवा सुरुवातको अवसरमा खल्तीले ग्राहकहरूका लागि विशेष अफरहरू सार्वजनिक गरेको छ।
निःशुल्क कार्ड सुविधा:सम्पूर्ण ग्राहकहरूका लागि पहिलो ३ महिनासम्म यो डिजिटल कार्ड पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ।
कार्ड सक्रियता सुविधा:कार्ड सुचारु गर्नासाथ ग्राहकले १,००० दामी पोइन्ट्स र रु. १,२०० सम्मका विभिन्न क्यासब्याक तथा अन्य सुविधाहरू प्राप्त गर्नेछन्।
प्रयोगकर्ताहरूले प्रत्येक ई–कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। खल्तीका प्रयोगकर्ताले एपभित्रै एक मिनेटभन्दा कम समयमा यो कार्ड सक्रिय गरी तत्कालै प्रयोग गर्न सक्नेछन्।
कार्ड जारी भएकै मितिदेखि दराजलगायतका विभिन्न इ–कमर्स प्लेटफर्म, एयरलाइन्स टिकटिङ, होटल तथा ट्राभल बुकिङ, फूड डेलिभरी र भिसा भुक्तानी स्वीकार गर्ने जुनसुकै अनलाइन सेवाहरूमा यसबाट सहजै भुक्तानी गर्न सकिनेछ।
सेवा सुरुवात गरेको अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले बताए।
"खल्ती डिजिटल भिसा कार्डले नगदरहित अर्थतन्त्र निर्माण, औपचारिक डिजिटल कारोबार वृद्धि, इ–कमर्स क्षेत्रको विस्तार तथा डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरेका छौँ। यसले डिजिटल नेपाल अभियानको लक्ष्यलाई व्यवहारिक रूपमा अगाडि बढाउँदै हरेक नेपालीलाई डिजिटल भुक्तानी इकोसिस्टमसँग जोड्ने अवसर प्रदान गर्नेछ ।"
प्रतिक्रिया दिनुहोस