२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

नेपोलियनको ‘मस्को विजय’ सम्झाउँदै गोकुलको व्यंग्य : निशानामा बालेन सरकार

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको मस्को अभियानको प्रसंग निकाल्दै वर्तमान सत्ता र त्यसको नेतृत्वप्रति अर्थपूर्ण राजनीतिक व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा नेपोलियनको शक्ति, विजयको उन्माद र आत्मविश्वाससँग जोडिएको प्रसंग उल्लेख गर्दै बाँस्कोटाले लेखेका छन्, ‘अद्भुत सौन्दर्यको यो शहर मेरो खुट्टामा लम्पसार परिरहेछ, अहिले अलेक्ज्याण्डर कहाँ होला? सेना र आफैंप्रति गर्व गर्दै– अब त्यो प्राचीन शहरको नाम निशाना मेटिनेछ। हार्नेलाई म दया गर्छु।’

उनले नेपोलियनका जासुसले ‘मस्को खाली छ’ भन्ने सूचना दिएको प्रसंगसमेत जोडेका छन्।

बाँस्कोटाले आफ्नो अभिव्यक्तिमा कसैको नाम उल्लेख गरेका छैनन्। तर पछिल्लो राजनीतिक परिस्थिति र उनको निरन्तरको सरकारलक्षित टिप्पणीलाई हेर्दा यो व्यंग्य प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र सत्ता सञ्चालनको शैलीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ।

प्रतिनिधिसभामा बलियो बहुमतसहित सत्तामा पुगेको नयाँ सरकारमाथि पछिल्ला दिनमा विपक्षी दलहरूले ‘शक्तिको उन्माद’ र ‘आलोचना नसहने प्रवृत्ति’ देखाएको आरोप लगाइरहेका छन्। एमाले नेताहरूले विशेषगरी सरकारका मन्त्रीहरूको अभिव्यक्ति र विपक्षीप्रतिको व्यवहारमाथि प्रश्न उठाउँदै आएका छन्।

यही पृष्ठभूमिमा बाँस्कोटाले नेपोलियनको मस्को अभियानलाई प्रतीकका रूपमा प्रयोग गरेका हुन्।
इतिहासमा नेपोलियन विशाल सेनासहित सन् १८१२ मा रुसमाथि आक्रमण गर्दै मस्कोसम्म पुगेका थिए। तत्कालीन रुसी रणनीतिअनुसार मस्को ठूलो मात्रामा खाली गरिएको थियो। नेपोलियनले मस्को कब्जा गरे पनि अपेक्षित आत्मसमर्पण पाएनन्।

आपूर्ति संकट, कठोर मौसम र रुसी रणनीतिका कारण अन्ततः उनको सेना विनाशकारी क्षति बेहोर्दै फर्किन बाध्य भयो।

अर्थात्, मस्कोमा प्रवेश गर्दाको विजयभाव नेपोलियनका लागि दीर्घकालीन विजय बनेन, बरु उनको पतनतर्फको निर्णायक मोडमध्ये एक बन्यो।
बाँस्कोटाको संकेत पनि यही ऐतिहासिक प्रतीकतर्फ देखिन्छ– मैदान खाली देखिनु शत्रु समाप्त हुनु होइन र तत्काल प्राप्त विशाल विजय सधैं टिकाउ हुँदैन।

पछिल्लो निर्वाचनमा कमजोर बनेका पुराना दल र बलियो जनमतसहित सत्तामा पुगेको नयाँ शक्तिबीच राजनीतिक आरोप–प्रत्यारोप चर्किरहेका बेला बाँस्कोटाको यो ‘नेपोलियन प्रसंग’लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट