२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

‘स्वास्थ्य परीक्षणका नाममा बिचौलियाको लुट’ : बागमतीका मुख्यमन्त्री र यातायातमन्त्रीमाथि छानबिनको माग

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजिव खत्रीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा तथा वर्ग थप गर्दा गरिने स्वास्थ्य परीक्षणका नाममा बिचौलियाले रकम असुल्ने धन्दा चलाएको आरोप लगाउँदै बागमती प्रदेशका मुख्यमन्त्री र यातायातमन्त्रीमाथि छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खत्रीले यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य परीक्षणको नाममा सेवाग्राहीबाट अस्वाभाविक रूपमा रकम उठाइएको आरोप लगाए। उनले प्रदेश सरकार मातहतका यातायात कार्यालयमा बिचौलियासँगको मिलेमतोमा रकम असुली भइरहेको दाबी गरे।

खत्रीका अनुसार यसअघि एकान्तकुनास्थित यातायात कार्यालयमा स्वास्थ्य परीक्षण निःशुल्क थियो भने भक्तपुरमा ५० रुपैयाँ र चाबहिलमा ५५ रुपैयाँ शुल्क लिइन्थ्यो। तर अहिले स्वास्थ्य परीक्षण शुल्क बढाएर १५० रुपैयाँ पु-याइएको उनले बताए।

यातायात कार्यालयले तोकेकै स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको भन्दै उनले यसले सीमित व्यक्तिलाई आर्थिक लाभ पु-याएको आरोप लगाए।

‘स्वास्थ्य परीक्षणका नाममा एउटा कार्यालयबाट मात्रै मासिक करिब दुई करोड रुपैयाँ बिचौलियाको हातमा पुगिरहेको छ,’ खत्रीले दाबी गरे। ठूलो रकम सेवाग्राहीबाट उठाइँदा पनि त्यसको पारदर्शिता र हिसाबकिताबमाथि प्रश्न उठेको उनको भनाइ थियो।

सांसद खत्रीले बिचौलियासँगको सम्भावित मिलेमतोबारे निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री र यातायातमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन माग गरे।

यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएका छन्। ती कार्यालयबाट संकलन हुने राजस्वसमेत प्रदेश सरकारको खातामा जम्मा हुने व्यवस्था छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट