काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सञ्चारमाध्यमलाई त्रसित र आतङ्कित बनाउने गतिविधिप्रति कडा टिप्पणी गरेका छन्।
मिडिया हाउसलाई लक्षित गरी गाडी राखेर त्रास सिर्जना गरिएको भनिएको घटनाप्रति प्रतिक्रिया जनाउँदै बाँस्कोटाले नागरिक आलोचना र सञ्चारमाध्यमसँग डराउने शासकले सबैभन्दा पहिले कलममाथि प्रहार गर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘शासक जो नागरिक आलोचना र आफ्नै छायाँसँग झस्कन थाल्छ, उसको पहिलो काम नै कलम भाँच्ने हुन्छ। तर इतिहास बोल्छ– निबको चुच्चो भाँचिँदैन, भाँचिने त फाइनली संगीनको टुप्पो हो।’
बाँस्कोटाले सञ्चारमाध्यम स्वनियमनमा चल्नुपर्ने तर सत्ताको त्रास र दबाबमा चल्न नहुने स्पष्ट पारेका छन्। ‘मिडिया स्वनियमनमा चल्नुपर्छ, सत्ताको त्रासमा होइन,’ उनले भनेका छन्।
उनले ‘इस्यु डाइभर्ट’ गर्न गरिएको भनिएको गतिविधि उल्टै प्रत्युत्पादक बनेको संकेत गर्दै लेखेका छन्, ‘इस्यु डाइभर्ट गर्न हानेको डाइभ रेड कार्ड खाने अवस्थामा पुगेछ।’
प्रतिक्रिया दिनुहोस