२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

राष्ट्रिय सेवा दल : अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौँ । नेपालमा युवाहरूलाई अनुशासित, सक्षम, नेतृत्वदायी र राष्ट्रप्रति समर्पित नागरिकका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय सेवा दल पछिल्ला वर्षहरूमा युवाको क्षमता विकासको एक महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रमका रुपमा स्थापित भएको छ ।

विद्यालय तथा महाविद्यालय तहका विद्यार्थीलाई जुनियर डिभिजन र सिनियर डिभिजनको तालिममार्फत नेतृत्व, अनुशासन, राष्ट्रभक्ति र सामाजिक उत्तरदायित्वका मूल्यहरू सिकाउँदै आएको राष्ट्रिय सेवा दलले राष्ट्र निर्माणमा युवाको सकारात्मक सहभागिता बढाउन उल्लेखनीय योगदान पुर्याएको छ । राष्ट्रिय सेवा दलको अवधारणा विश्व इतिहाससँग जोडिएको छ ।

क्रिमियन युद्धपछि बेलायतका युवाहरूमा अनुशासन र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापना गरिएको नभल ल्याड्स ब्रिगेड क्रमशः विकसित हुँदै सेवा दलको स्वरूपमा परिणत भएको थियो । यही अवधारणालाई नै अहिले विभिन्न मुलुकहरूले अपनाएका छन् ।

नेपालमा राष्ट्रिय सेवा दलको अभ्यास २००८ सालदेखि प्रारम्भ भएको पाइए पनि यसको औपचारिक स्थापना २०२२ साल कात्तिक ७ गते भएको हो । राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवाहरूमा अनुशासन, नैतिकता, इमान्दारिता, नेतृत्व क्षमता तथा राष्ट्रभक्तिको भावना विकास गर्नु नै हो ।

साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्दै विपद् तथा राष्ट्रिय सङ्कटका बेला परिचालन गर्न सकिने दक्ष स्वयंसेवक जनशक्ति तयार गर्नु पनि यसको प्रमुख उद्देश्य हो ।

अन्तरराष्ट्रिय युवा आदान–प्रदान कार्यक्रममार्फत मित्र राष्ट्रहरूसँग सम्बन्ध विस्तार र कूटनीतिलाई सुदृढ बनाउने कार्यसमेत राष्ट्रिय सेवा दलले गर्दै आएको छ । यस संस्थाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय सेवा दल ऐन, २०२७ अनुसार हुँदै आएको छ । ऐनले विद्यार्थीहरूलाई सैनिक तालिममार्फत अनुशासित र योग्य नागरिक बनाउने उद्देश्य स्पष्ट गरेको छ ।

राष्ट्रिय सेवा दल ऐन, २०२७ मा उल्लेख भएअनुसार सेवादलमा भर्ना गरिएको व्यक्तिलाई सेवादलमा भर्ना भएकै कारणले मात्र सैनिक सेवामा काम गर्न बाध्य गराइने छैन भन्ने उल्लेख भएको छ । राष्ट्रिय सेवा दलले शिक्षा तथा खेलकुद मन्त्रालय तथा नेपाली सेनाको सिफारिसका आधारमा विद्यालय छनोट गरी तालिम सञ्चालन गर्दछ ।

विद्यालय छनोटमा सरकारी विद्यालयलाई ६० प्रतिशत र निजी विद्यालयलाई ४० प्रतिशत प्राथमिकता दिइन्छ । छात्र–छात्राको समान सहभागिता सुनिश्चित गरिनुका साथै समावेशी प्रतिनिधित्वलाई विशेष ध्यान दिइन्छ । हाल राष्ट्रिय सेवा दलले सिनियर तथा जुनियर डिभिजनमार्फत तालिम सञ्चालन गर्दै आएको छ । तालिम दुई चरणमा सञ्चालन गरिन्छ ।

पहिलो चरणमा विद्यालयमै ७९ दिनको संस्थागत तालिम सञ्चालन हुन्छ, जसमा शारीरिक प्रशिक्षण, आधारभूत सैनिक कला, विपद् व्यवस्थापन, साहसिक गतिविधि तथा अनुशासनसम्बन्धी विषय समावेश गरिन्छ । दोस्रो चरणमा २१ दिनको वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिन्छ, जहाँ नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक सेवा, शारीरिक तन्दुरुस्ती, सांस्कृतिक आदान–प्रदान तथा विभिन्न प्रतियोगितात्मक गतिविधिहरू आयोजना गरिन्छ ।

यसरी कुल एक सय दिनको तालिमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र नेतृत्व अनुभव प्रदान गर्दछ । स्थापनादेखि हालसम्म राष्ट्रिय सेवा दलले उल्लेखनीय सफलता हासिल गरेको छ ।

प्रारम्भिक चरणमा सीमित सङ्ख्याका विद्यार्थीलाई मात्र तालिम दिइने क्षमता रहे पनि अहिले वार्षिक सात हजार ७१० जना विद्यार्थीलाई तालिम प्रदान गर्ने क्षमता विकास भएको छ । हालसम्म देशभरका ८९ हजार ८९४ जना विद्यार्थी राष्ट्रिय सेवा दलबाट प्रशिक्षित भइसकेका छन् ।

तीमध्ये १५ हजार २१५ जना सिनियर डिभिजन तथा ७४ हजार ६७९ जना जुनियर डिभिजनका क्याडेट रहेका छन् । राष्ट्रिय सेवा दलको अर्को महत्त्वपूर्ण पक्ष युवा आदानप्रदान कार्यक्रम हो ।

हालसम्म सात मित्र राष्ट्रसँग सञ्चालन भएको यस कार्यक्रममार्फत नेपालबाट ५६३ भन्दा बढी विद्यार्थी विदेश भ्रमण तथा अध्ययन आदान–प्रदान कार्यक्रममा सहभागी भएका छन् भने विभिन्न मित्रराष्ट्रबाट ५८९ जना युवा नेपाल आएर ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सहभागी भएका छन् । यसले अन्तरराष्ट्रिय समन्वय, नेतृत्व एवं व्यक्तित्व विकास र कूटनीतिमा सकारात्मक योगदान पुर्याएको छ ।

राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त पूर्व क्याडेटहरूलाई सङ्गठित गर्ने उद्देश्यले विसं २०७५ मा एनसिसि अल्मुनाई एसोसिएसन, नेपाल पनि स्थापना गरिएको थियो । यस संस्थाले विपद् व्यवस्थापन, रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म देशभर ७७ वटा स्थानीय समिति गठन भइसकेका छन् ।

भविष्यमा राष्ट्रिय सेवा दलले आफ्नो दायरा अझ विस्तार गर्ने योजना बनाएको छ । हालका दिनहरुमा राष्ट्रिय सेवादल तालिम गर्न इच्छुकहरूको सङ्ख्यामा वृद्धि भएको तर तालिम गराउन सक्ने क्षमता सात हजार ७०० लाई निरन्तरता दिँदै गत आवमा २१४ वटा विद्यालय सहभागी भएकामा आव २०८३/८४ मा विद्यालयहरुको सङ्ख्या वृद्धि गरेर २५७ पुर्याइएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

यस दलले आगामी दिनहरुमा वार्षिक रुपमा कम्तीमा ११ हाजार ५०० विद्यार्थीलाई तालिम प्रदान गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै, पूर्व क्याडेटहरूको डाटाबेस व्यवस्थापन, पुनर्ताजगी तालिम, रोजगारसँग जोडिने कार्यक्रम, नीति निर्माणमा सहभागिता तथा नियमित अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिने योजना अघि सारिएको पनि प्रवक्ता बस्नेतले बताए ।

करिब छ दशकदेखि राष्ट्रिय सेवा दलले अनुशासित, सक्षम, राष्ट्रप्रेमी र जिम्मेवार नागरिक निर्माणमा निरन्तर योगदान दिँदै आएको छ । विद्यालय तहका विद्यार्थीलाई नेतृत्व, अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व तथा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्दै यसले राष्ट्रका लागि आवश्यक दक्ष स्वयंसेवी जनशक्ति तयार गरिरहेको छ ।

युवा आदानप्रदान कार्यक्रममार्फत अन्तरराष्ट्रिय अनुभव र सांस्कृतिक आदानप्रदानको अवसर विस्तार भएको छ भने अलुमुनाईमार्फत पूर्व क्याडेटहरू विपद् व्यवस्थापन, सामाजिक सेवा र सामुदायिक अभियानमा सक्रिय रूपमा परिचालित भइरहेका छन् ।

तालिमको दायरा, गुणस्तर र संस्थागत क्षमता थप सुदृढ हुँदै गएमा राष्ट्रिय सेवा दल नेपालको युवा विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माण अभियानको अझ प्रभावकारी आधारस्तम्भका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । प्रस्तावित राष्ट्रिय सेवा दल विधेयक, २०८३ मा युवा विकास र पूर्वक्याडेटहरूको भूमिकालाई विशेष प्राथमिकता दिइएको छ ।

नेपालको संविधान २०७२ को धारा ५१ को राज्यका नीतिहरु अन्तर्गत (क) को ६ मा राष्ट्रिय आवश्यकताअनुरुप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने उल्लेख भएको छ ।

प्रस्तावित राष्ट्रिय सेवा दल विधेयक, २०८३ ले राष्ट्रिय सेवा दलको कार्यक्षेत्र, उद्देश्य र संस्थागत संरचनालाई समयानुकूल बनाउन विशेष जोड दिएको छ । विधेयकको मुख्य व्यवस्थाअन्तर्गत नेपाली सेनाले विगत लामो समयदेखि सञ्चालन गर्दै आएको जुनियर तथा सिनियर तहका विद्यार्थीहरूका लागि राष्ट्रिय सेवा दल तालिमलाई कानुनी रूपमा थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ ।

विधेयकले नैतिकवान, अनुशासित, राष्ट्रप्रेमी, सक्षम तथा नेतृत्वदायी व्यक्तित्व भएका युवा शक्ति निर्माण राष्ट्रिय सेवा दलको प्रमुख उद्देश्यका रूपमा परिभाषित गरेको छ । किशोर तथा युवा पुस्तामा अनुशासन, नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाको भावना अभिवृद्धि गर्ने लक्ष्यलाई पनि विधेयकले विशेष महत्व दिएको छ ।

यसैगरी, राष्ट्रिय सेवा दलबाट हालसम्म तालिमप्राप्त पूर्वक्याडेटलाई संस्थागत रूपमा एकीकृत गर्दै राष्ट्रसेवामा परिचालन गर्ने उद्देश्यले विसं २०७५ मा स्थापना गरिएको अलुमुनाईसम्बन्धी व्यवस्था पनि प्रस्तावित विधेयकमा समावेश गरिएको छ ।

स्थापना भएदेखि नै उक्त संस्थाले सङ्घ, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन, सामाजिक सेवा तथा समुदायमा आधारित विभिन्न जनहितका कार्यक्रममार्फत उल्लेखनीय योगदान दिँदै आएको छ ।

इच्छुक विद्यार्थीहरूको स्वेच्छिक सहभागिताका आधारमा नै राष्ट्रिय सेवा दलका तालिम कार्यक्रम सञ्चालन हुँदै आएकामा प्रस्तावित राष्ट्रिय सेवा दल विधेयक–२०८३ ले पनि यही व्यवस्थालाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट