२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

१०० दिनमा ट्रेलर देखियो, पूरा फिल्म हेर्न बाँकी छ’ : सचेतक दुलाल

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेकपाका सचेतक युवराज दुलालले सरकारको सय दिनको कार्यशैलीमाथि कडा प्रहार गर्दै ‘ट्रेलर देखिइसकेको र पूरा फिल्म हेर्न बाँकी रहेको’ टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै दुलालले सुकुम्बासीमाथिको व्यवहारदेखि नागरिक आत्मदाह, सञ्चारमाध्यममाथिको धरपकड, राजनीतिक नियुक्ति र प्रधानमन्त्रीको संसद् अनुपस्थितिसम्मका विषय उठाउँदै सरकारमाथि प्रश्नैप्रश्न तेस्र्याए ।

‘हामीले १०० दिनमा निकै ट्रेलर देख्यौँ, अब पूरा फिल्म हेर्न बाँकी छ,’ दुलालले भने, ‘सुकुम्बासी बस्तीमा धुरुधुरु रोएका बालबालिका, सुत्केरी र वृद्धवृद्धा देख्यौँ। होल्डिङ सेन्टरका अमानवीय हर्कत देख्यौँ। नागरिकले आत्मदाह गर्दा प्रश्न उठाउने सांसदलाई मन्त्रीले संसद्को रोस्ट्रमबाट धम्की दिएको पनि देख्यौँ।’

सरकार प्रश्नबाट भागिरहेको आरोप लगाउँदै उनले प्रश्नसँग डराउने सरकार लोकतान्त्रिक हुन नसक्ने चेतावनी दिए। प्रश्न गरेरै जन्मिएको दल सरकारमा पुगेपछि प्रश्नबाट तर्सिएको उनको टिप्पणी थियो। ‘हिजो प्रश्न सोधेर यहाँसम्म आइपुगेका साथीहरू आज प्रश्नदेखि तर्सेर भाग्नुभएको छ,’ उनले भने, ‘तपाईंहरू जति भागे पनि हामी प्रश्न सोध्न छाड्दैनौँ। तानाशाहीको यात्रा नागरिकको मुख थुनेरै सुरु हुन्छ।’

दुलालले संसद्ले खोज्दा प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए। सरकारको ‘हनिमुन पिरियड’ सकिएको भन्दै उनले प्रधानमन्त्रीलाई संसद्मा आएर सय दिनका कामको जवाफ दिन चुनौती दिए । ‘सर्वोच्च जनप्रतिनिधिमूलक थलो संसद् हो, संसद्ले प्रधानमन्त्री खोज्दा प्रधानमन्त्री पाउनुपर्छ,’ उनले भने, ‘१०० दिन पुग्यो, हनिमुन सकियो। अब प्रधानमन्त्री संसदमा आउनुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ।’

सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउँदै दुलालले रातारात होल्डिङ सेन्टरमा पुर्‍याइएका नागरिकलाई खानापानीसमेत बन्द गरिएको विषय उठाए । २५ हजार रुपैयाँ दिएर गरिब नागरिकलाई लखेट्ने नीति स्वीकार्य नहुने भन्दै उनले प्रश्न गरे, ‘एउटै वर्गलाई कतिपटक मार्ने? नागरिकलाई तड्पाएर जिउँदै मार्न खोजिएको होइन?’

गणेश नेपाली आत्मदाह प्रकरणमा सरकारको चरम लापरबाही देखिएको दुलालको आरोप छ । आत्मदाहको घटनालाई विषयान्तर गर्न सञ्चारगृह र राजनीतिक नेतृत्वलाई तर्साउने गरी ‘गाडी आतंक’ सिर्जना गरिएको भन्दै उनले त्यसका योजनाकार र परिचालनकर्ता सार्वजनिक गर्न माग गरे । सरकार संरक्षित भिजिलान्ते र गुण्डाराज स्वीकार्य नहुने उनको चेतावनी थियो ।

सरकारको सुशासनको नारामाथि पनि दुलालले तीखो व्यंग्य गरे। मन्त्रालयको संख्या घटाउने निर्णयको आफूहरूले प्रशंसा गरे पनि स्थायी राज्य संयन्त्रलाई पन्छाएर जवाफदेही हुनुनपर्ने सल्लाहकारको लर्को लगाइएको उनले बताए । ‘सुशासनको यो बयलगाडालाई एक्सप्रेस गाडीले सँगै लिएर हिँड्न सक्छ कि सक्दैन, जान्नेहरू जानून्, छान्नेहरू नै जानून्,’ उनले व्यंग्य गरे ।

राजनीतिक नियुक्तिमा खुला प्रतिस्पर्धाको नाममा ‘पिक एन्ड चुज’ गरिएको आरोप लगाउँदै दुलालले सिफारिस समितिले दिएका नाम सार्वजनिक गर्न सरकारलाई चुनौती दिए । दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा अन्तर्वार्ताको समय सकिनुअघि नै निर्णय गरिएको दाबी गर्दै उनले प्रश्न गरे, ‘सुशासनको योभन्दा भद्दा मजाक अरू केही छ?’

रास्वपा र सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै दुलालले भने, ‘हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब । हिजो स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र चलाउँदा स्थानीय सरकार खराब ।

हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुनिदे सरकार।’ सरकारका गतिविधिले लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो । ‘सहीलाई सही र गलतलाई गलत भनौँ, संस्कार बन्छ, संस्कृति बन्छ र देश बन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट