२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

एकैपटक ५० हजारसम्म ट्राफिक जरिवानाको हल्ला भ्रम मात्र हो : मन्त्री लम्साल

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरेपछि एकैपटक ५० हजार रुपैयाँ जरिवाना लाग्ने भन्ने प्रचार भ्रमपूर्ण रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सामान्य ट्राफिक नियम उल्लंघनमा ५०० रुपैयाँ जरिवाना लाग्ने व्यवस्था रहेको स्पष्ट पारे। एउटै कसुर पटक–पटक दोहोर्‍याएमा भने जरिवाना क्रमशः बढ्दै अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्ने कानुनी व्यवस्था रहेको उनले बताए।

‘एकैपटक ५० हजार रुपैयाँ जरिवाना लाग्छ भन्ने ढंगले गलत सूचना फैलाइएको छ,’ मन्त्री लम्सालले भने।

उनले मुगुका गणेश नेपालीले १० हजार रुपैयाँ ट्राफिक जरिवाना तिर्न नसकेर आत्मदाह गरेको भन्ने दाबी पनि असत्य रहेको बताए। गणेश नेपालीलाई त्यस्तो कुनै जरिवाना नलगाइएको स्पष्ट पार्दै उनले आर्थिक कठिनाइ, समयमै न्याय नपाउने अवस्था र सामाजिक समस्याका कारण यस्ता दुःखद घटना हुने गरेको उल्लेख गरे।

सडक सुरक्षाको अवस्थाबारे जानकारी दिँदै मन्त्री लम्सालले विगत पाँच वर्षमा देशभर १ लाख २५ हजार ५६४ वटा सडक दुर्घटना भएको र ती दुर्घटनामा १२ हजार ४५२ जनाको ज्यान गएको बताए। सडक सुरक्षालाई प्रभावकारी बनाउन विभिन्न सडकको स्तरोन्नति तथा सुधारको काम अघि बढाइएको पनि उनले जानकारी दिए।

सार्वजनिक खरिद प्रणाली सुधारबारे बोल्दै उनले वि.सं. २०७४ देखि उठ्दै आएको सार्वजनिक खरिद ऐन संशोधनको माग वर्तमान सरकारले पहिलो १०० दिनभित्र पूरा गरेको बताए। विगतमा न्यूनतम कबोल (लो बिडिङ) का कारण हजारौं अव्यावहारिक ठेक्का थपिएको उल्लेख गर्दै नयाँ ऐनमा औसत कबोल (एभरेज बिडिङ) को व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार नयाँ व्यवस्थाले निर्माण क्षेत्रलाई गति दिने, बजारमा आर्थिक गतिविधि बढाउने र वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट