२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

मिडिया हाउस र नेताको घर अगाडि बेवारिसे गाडी : ५ सय जरिवाना गरेर छाडियो

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । मिडिया हाउस र नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि बेवारिसे अवस्थामा सवारीसाधन छाड्नेहरूलाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेर गाडी फिर्ता दिएको छ ।

सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा कांग्रेस सभापति थापाको निवासबाहिर आवागमनमै समस्या हुने गरी पाँचवटा सवारीसाधन बेवारिसे अवस्थामा पार्किङ गरेर छाडिएको थियो । 

घटनालाई लिएर विभिन्न आशंका र छानबिनको माग भइरहेका बेला उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने अवैध पार्किङअन्तर्गत चिट काटेर गाडीधनीलाई सवारीसाधन बुझाएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ (ख) बमोजिम गाडीधनीमाथि कारबाही गरिएको छ ।

745952893_1673269547261074_7235751655119089892_n.jpg

उक्त व्यवस्थाअनुसार पहिलो पटक नियमविपरीत पार्किङ गर्नेलाई पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार पहिलो पटकका लागि पाँच सय रुपैयाँ जरिवाना गरेर गाडी सम्बन्धित धनीलाई बुझाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

‘गाडीधनीहरू बेलुकी आउनुभएको थियो,हामीले पहिलो पटकका लागि पाँच सय रुपैयाँको रसिद काटेर पठाएका छौँ,’ सुवेदीले भने, ‘जरिवाना गरिएको विवरण हाम्रो अनलाइन प्रणालीमा समेत इन्ट्री गरेका छौँ ।’

सोमबार कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर, भाटभटेनी, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवासबाहिर बेवारिसे अवस्थामा गाडी छाडिएका थिए ।

745342181_1143280755052053_2119588184412893216_n.jpg

तीमध्ये केही सवारीसाधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासँग जोडिएको समेत पुष्टि भइसकेको छ । ट्राफिक प्रहरी स्रोतका अनुसार कांग्रेस सभापति थापाको निवासबाहिर छाडिएको गाडी यातायात व्यवस्था कार्यालयमा कुमारप्रसाद अर्यालको नाममा दर्ता रहेको पाइएको छ ।

त्यस्तै, कान्तिपुर पब्लिकेसन्सअगाडि छाडिएको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका छोरा तथा रास्वपाका केन्द्रीय विभाग सदस्य रवि जयसवालको रहेको पुष्टि भएको छ ।

रास्वपाकै नेताहरूले मिडिया हाउस र नेताको घरअगाडि बेवारिसे अवस्थामा गाडी छाडिएको घटनाको छानबिन गर्न माग गरेका थिए । तर, गाडी किन र कुन उद्देश्यले एकै दिन विभिन्न मिडिया हाउस तथा राजनीतिक दलका नेताको निवासअगाडि छाडिए भन्ने विषयमा विस्तृत अनुसन्धान भएको सार्वजनिक जानकारी नआउँदै ट्राफिक प्रहरीले पाँच सय रुपैयाँको जरिवाना काटेर गाडी फिर्ता दिएको छ ।

एकै प्रकृतिमा विभिन्न स्थानमा छाडिएका गाडीको घटनालाई सामान्य ‘अवैध पार्किङ’मै सीमित गरेर कारबाही टुंग्याइएपछि उक्त घटना टुगिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट