२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

सातै प्रदेशमा सत्ता समीकरण फेरिँदै : ‘किङमेकर’ भूमिकामा नेकपा

बिहिवार , आषाढ ३२, २०८३

 सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सत्ता साझेदार नेकपा एमालेले नै साथ नदिएपछि सुरु भएको विवाद अन्ततः सातै प्रदेशको सत्ता समीकरणमै पुगेर टुंगिएको छ । नेपाली कांग्रेसले एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्दै नयाँ गठबन्धनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग छलफललाई तीव्र बनाएको छ ।

दुई वर्षअघि तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संघ र प्रदेशमा आलोपालो सत्ता सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त समझदारीअनुसार दुई–दुई वर्षमा संघीय सरकारसँगै प्रदेश सरकारको नेतृत्व पनि फेरबदल गर्ने सहमति थियो ।  तर भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि ओली नेतृत्वको सरकार ढलेसँगै केन्द्रको सहमति कार्यान्वयन हुन सकेन । त्यसपछि पनि प्रदेशमा भने कांग्रेस र एमालेबीच सत्ता सहकार्य निरन्तर चलिरहेको थियो ।

‘देउवा र ओलीबीच भएको सहमति पालना भएको भए अहिलेको अवस्था आउने थिएन , कांग्रेस नेतृत्व पनि पुरानो समीकरण बदल्ने पक्षमा थियो, तर ओलीले समयमै निर्णय नगर्दा सम्बन्ध बिग्रियो,’ उनले भने ।

तर सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा एमाले सांसदहरूले नै खर्च कटौती प्रस्ताव दर्ता गरेर आफ्नै सरकारलाई अप्ठ्यारोमा पारेपछि कांग्रेस नेतृत्व असन्तुष्ट बन्यो । अन्ततः कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गर्दै नयाँ समीकरणका लागि नेकपासँग संवाद अघि बढाएको हो ।

ओलीसँगको संवाद निष्कर्षविहीन

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापाले प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेका थिए । कांग्रेसले पुरानो सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न प्रस्ताव राखे पनि ओली त्यसमा स्पष्ट हुन नसकेको कांग्रेस नेताहरूको दाबी छ ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले समेत ओलीसँग भेटवार्ता गरे। तर ठोस निष्कर्ष ननिस्किएपछि कांग्रेसले समानान्तर रूपमा नेकपासँग संवाद सुरु गरेको थियो ।

सुदूरपश्चिममा बजेट विवाद उत्कर्षमा पुगेपछि सभापति थापाले ओलीसँग टेलिफोन संवाद गरेका थिए । तर एमाले खर्च कटौती प्रस्तावबाट पछि हट्न तयार नभएपछि कांग्रेस नेतृत्वले सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको स्रोतको भनाइ छ ।

‘सभापति र उपसभापतिले धेरै प्रयास गर्नुभयो, तर ओली सकारात्मक हुनुभएन, त्यसपछि जोखिम लिएरै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयमा पुग्यौं,’ कांग्रेसका एक नेताले भने।

नेकपासँग निरन्तर संवाद

कांग्रेस सभापति थापा र नेकपाका संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारको नयाँ समीकरणबारे निरन्तर संवाद भइरहेको छ। यद्यपि दाहाल श्रीलंकाको भ्रमणमा रहेकाले तत्काल औपचारिक निर्णय भने नहुने नेकपाका नेता माधव सापकोटाले बताए ।
उनका अनुसार कांग्रेस र एमाले दुवै दलले सत्ता सहकार्यको प्रस्ताव राखेका छन् र नेकपाभित्र त्यसबारे छलफल जारी छ ।

नेकपाभित्र दुई धार

प्रदेश सरकार गठनका लागि निर्णायक देखिएको नेकपाभित्र भने फरक–फरक धार देखिएको छ । साविक माओवादी केन्द्रबाट आएका अधिकांश नेताहरू एमालेसँग सहकार्यको पक्षमा छन् भने साविक समाजवादी समूहका नेताहरू कांग्रेससँग सहकार्य गर्नुपर्ने मत राखिरहेका छन् ।

नेकपा नेता माधव सापकोटाका अनुसार अहिले दुवै दलसँग समानान्तर छलफल भइरहेको छ ।
‘प्रस्ताव कांग्रेस र एमाले दुवैबाट आएको छ , कम्युनिष्ट शक्तिबीच सहकार्यको पक्ष पनि छ , तर संयोजक कमरेड फर्किएपछि मात्रै आधिकारिक निर्णय हुन्छ,’ उनले भने ।

सापकोटाका अनुसार तत्काल मिल्न सक्ने एजेण्डामा सहकार्य गर्दै भविष्यमा पार्टी एकतासम्म जाने अवधारणाका कारण एमालेसँग पनि संवाद भइरहेको छ । तर कांग्रेस, एमाले र नेकपा तीनै दल एउटै सत्ता गठबन्धनमा जाँदा प्रतिपक्षविहीन अवस्था सिर्जना हुने भएकाले त्यसले राजनीतिक सन्देश राम्रो नजाने उनको तर्क छ ।

फाइदा जहाँ, सहकार्य त्यहीँ

नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्ट पनि सुदूरपश्चिमको घटनाकै कारण सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन टुटेको बताउँछन् ।

उनका अनुसार नेकपाले अहिले दुवै दलसँग समान दूरी कायम राखेर छलफल गरिरहेको छ ।

भट्ट भन्छन्, ‘यदि एमालेसँग पार्टी एकतासम्म जाने स्पष्ट आधार बन्छ भने सहकार्य दीर्घकालीन हुन सक्छ , तर प्रदेश सरकारका लागि मात्रै सहकार्य गर्ने हो भने त्यसको औचित्य छैन , अहिलेको अवस्थामा कांग्रेससँग सहकार्य गर्दा सरकारको नेतृत्वमा छिट्टै पुग्ने सम्भावना पनि देखिन्छ । ’
उनले अन्तिम निर्णय भने केन्द्रको राजनीतिक सहमतिपछि मात्रै हुने स्पष्ट पारे ।

अलमलमा एमाले

सुदूरपश्चिमको बजेट विवादले सातै प्रदेशको सत्ता समीकरण भत्किएपछि एमाले नेतृत्व पनि नयाँ रणनीतिबारे अन्योलमा देखिएको छ । नेकपाले प्रदेश सरकारभन्दा पनि पार्टी एकताको स्पष्ट रोडम्याप भए मात्रै एमालेसँग सहकार्य गर्न सकिने सन्देश दिँदै आएको छ । तर एमालेभित्रै तत्काल पार्टी एकताको पक्षमा सर्वसम्मति छैन ।

एमालेका एक पदाधिकारी भन्छन्, ‘प्रदेशमा अब कसरी अगाडि बढ्ने भन्नेबारे हामीलाई पनि स्पष्ट जानकारी छैन, अन्तिम निर्णय अध्यक्ष कमरेडले नै गर्नुहुन्छ ।’

एमालेकै एक केन्द्रीय सदस्य भने अहिलेको अवस्थाको जिम्मेवारी ओलीमाथि पर्ने बताउँछन् ।

‘देउवा र ओलीबीच भएको सहमति पालना भएको भए अहिलेको अवस्था आउने थिएन , कांग्रेस नेतृत्व पनि पुरानो समीकरण बदल्ने पक्षमा थियो, तर ओलीले समयमै निर्णय नगर्दा सम्बन्ध बिग्रियो,’ उनले भने ।

उनका अनुसार कांग्रेस सभापति गगन थापाले केही दिनअघि दिएको ‘हामी १० वर्ष अँध्यारोमा बस्यौं ’ भन्ने अभिव्यक्तिले पनि कांग्रेस अब एमालेसँगको पुरानो सहकार्य निरन्तर राख्ने पक्षमा नरहेको संकेत दिएको थियो ।

यता एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भने पार्टीभित्र छलफल जारी रहेको प्रतिक्रिया दिए । ‘अहिले विभिन्न तहमा छलफल भइरहेको छ, औपचारिक निर्णय भएपछि मात्रै पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट