काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता सहयात्री दलहरूबीच विश्वासको संकट चुलिँदै मुख्यमन्त्रीले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि त्यसको राजनीतिक तरंग अन्य प्रदेशमा पनि फैलिन थालेको छ। संघीय राजधानी रहेको वागमती प्रदेशमा समेत सत्ता समीकरण परिवर्तनको चर्चा तीव्र बनेको छ ।
वागमती प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्। तर, सुदूरपश्चिमको घटनाक्रमपछि एमालेभित्र सरकारबाट बाहिरिने विषयमा छलफल तीव्र बनेको थियो ।
एमालेका तर्फबाट वागमती सरकारमा रहेका चारै मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिने तयारी गरेका थिए । राजीनामापत्रसमेत तयार भइसकेको अवस्थामा पार्टीको केन्द्रीय नेतृत्वले तत्काल कुनै निर्णय नगर्न निर्देशन दिएपछि अन्तिम समयमा राजीनामा रोकिएको हो ।
एमालेका नेता तथा वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आफूहरूले सामूहिक राजीनामापत्र तयार पारे पनि उच्च नेतृत्वको निर्देशनपछि त्यसलाई स्थगित गरिएको बताए ।
नेकपा वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सुदूरपश्चिमको घटनाले सबै प्रदेशको राजनीतिमा तरलता ल्याएको बताउँदै वागमतीमा पनि केही समय अन्योलको अवस्था रहने संकेत गरे ।उनका अनुसार पार्टीका शीर्ष तहबाट हुने छलफल र निर्णयले प्रदेश सरकारको आगामी दिशा तय गर्ने बताउछन् ।
‘एमाले र नेकपा दुवैभित्र वामपन्थी शक्तिबीच सहकार्य हुनुपर्छ भन्ने मत बलियो छ, दुवै दलका नेताहरूले नेतृत्वलाई त्यसतर्फ सकारात्मक रूपमा कन्भिन्स गरिरहनुभएको छ ।’ उनले भने–‘दुई अध्यक्षबीच पनि यसबारे छलफल भएको हुन सक्छ, केही सकारात्मक संकेत देखिएपछि नै पछिल्ला गतिविधि भएका हुन सक्छन् ।’
सहयात्रीका अनुसार प्रदेशअनुसार दलगत अंकगणित फरक भए पनि सत्ता समीकरणको निर्णय गर्दा सातै प्रदेशलाई समेट्ने गरी साझा निर्णय आवश्यक भएको बताए ।
‘वागमतीमा एमाले र नेकपाबीच सहकार्यको वातावरण बलियो छ, केही अन्य प्रदेशमा भने कांग्रेस र नेकपाबीच पनि सहकार्यको सम्भावना छ, त्यसैले सबै प्रदेशमा एउटै ढाँचाको सत्ता समीकरण बनाउने गरी निर्णय हुनुपर्छ उनले भने । उनका अनुसार वागमतीमा कांग्रेसले समेत सरकार जोगाउन नेकपाको साथको अपेक्षा गरिरहेको छ ।
यता एमाले नेता तथा स्वास्थ्यमन्त्री किरण थापाले पनि वागमतीमा अब एमाले र नेकपाले मिलेर सरकार गठन गर्नुपर्ने धारणा राखे।
‘काग र काग मिल्दा राम्रो हुन्छ, तर काग र बकुल्ला मिल्दा राम्रो हुँदैन ।’ उनले भने– ‘यदि एमाले र नेकपा मिलेनन् भने यहाँ पनि पश्चिम बंगालजस्तै राजनीतिक अवस्था आउन सक्छ ।’
थापाका अनुसार वागमती प्रदेशको भावी सत्ता समीकरणबारे छलफल गर्न एमालेका दोस्रो तहका नेताहरूको शुक्रबार काठमाडौंमा बैठक बस्दैछ। उनले प्रदेश सरकारबाट तत्काल बाहिरिनु उपयुक्त नहुने सुझाव आफूहरूले पार्टी अध्यक्षसहित शीर्ष नेतृत्वलाई दिएको पनि बताए।
सुदूरपश्चिमबाट सुरु भएको सत्ता संकट अब वागमतीसहित अन्य प्रदेशको राजनीतिमा समेत प्रभाव पार्न थालेको छ। यद्यपि अन्तिम निर्णय भने प्रमुख दलका शीर्ष नेताबीच हुने राजनीतिक सहमतिमै निर्भर रहने देखिएको दोस्रो तहका दुवै दलका नेताहरुले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस