धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना महिला २४ घण्टादेखि सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ दशरथ टोलका उनीहरू आइतबार बिहान निकुञ्ज प्रवेश गरेपछि हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिलाहरू आइतबार बिहान करिब ११ बजे मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र च्याउ टिप्न प्रवेश गरेका थिए । साँझसम्म पनि उनीहरू घर नफर्किएपछि र कुनै सम्पर्क हुन नसकेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
निकुञ्जको घना जङ्गलमा हराउनेहरूमा स्थानीय सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू ९ र ५ जनाको दुईवटा छुट्टाछुट्टै समूहमा विभाजित भएर च्याउ खोज्न जङ्गलतर्फ लागेका थिए । निकुञ्जभित्र मोबाइल नेटवर्कको समस्या र जङ्गली जनावरको समेत ठूलो जोखिम हुने भएकाले घटनालाई सुरक्षा निकायले उच्च प्राथमिकतामा राखेको छ ।
सम्पर्कविहीन भएका महिलाहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, स्थानीय प्रहरी युनिट, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली र निकुञ्जका गेमस्काउटहरू सहितको संयुक्त टोलीले जङ्गलभित्र खोजी अभियानलाई व्यापक र तीव्र पारेको छ ।
तस्बिरः एआई सिर्जित
प्रतिक्रिया दिनुहोस