काठमाडौं / काठमाडौंको गोङ्गबुस्थित एक होटलमा मृत अवस्थामा फेला परेकी युवतीको पहिचान भएको छ । प्रहरीका अनुसार उनको नाम निशा सुनार रहेको छ ।तर घटना भएको केही दिन बितिसक्दा पनि उनका आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलको एक कोठामा निशा मृत अवस्थामा फेला परेकी थिइन्।
होटलमा बस्दा उनले आफ्नो स्थायी ठेगाना धनगढी उल्लेख गरेकी थिइन्। तर हालसम्म उक्त विवरणबाहेक उनको परिचय पुष्टि गर्ने अन्य कागजात वा तथ्य प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
होटल सञ्चालकले कोठाबाट अस्वाभाविक गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले कोठाभित्र युवतीलाई मृत अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार मृतकको उमेर करिब २८ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
युवतीको मृत्यु हत्या, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषय पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
हाल प्रहरी टोलीले होटल व्यवस्थापन, कर्मचारी तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ गरिरहेको छ। घटनामा संलग्न रहेको आशंकामा हालसम्म कसैलाई नियन्त्रणमा नलिइएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी भट्टराईले घटना शंकास्पद रहेको र शंकास्पद व्यक्तिहरुको खोजी सुरु गरिएको बताउछन् । घटना हेर्दा शंकास्पद छ हामी केही दिन भित्रै घटनाको बारेमा सबै जानकारी ल्याउछौ एसपी भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस