logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

    6.1K
    Shares

    चितवन । जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

    गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।

    कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

    टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उनले जानकारी दिईन् । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेको उनले बताईन् ।

    यो रोग प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उनले बताईन् ।

    राम्ररी पकाएको खानामात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्नेगरी यो रोगबाट बाँच्न सकिने उनले जानकारी दिईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend