logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • आफ्नालाई हटाएर कांग्रेसलाई मन्त्री बनाएपछि सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी असन्तुष्ट

    आफ्नालाई हटाएर कांग्रेसलाई मन्त्री बनाएपछि सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी असन्तुष्ट

    6.3K
    Shares

    धनगढी । प्रदेश सरकारबाट एकलौटी निर्णय गरेर आफ्ना मन्त्री फिर्ता बोलाएर कांग्रेसलाई मन्त्री पद दिएको भन्दै सुदूरपश्चिम नेपाल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ । पार्टीका एक नेताका अनुसार चुनावपछि एकल बहुमतको सरकार चलाउने तयारी पनि गरिएको छ ।

    यस्तै, सुदूरपश्चिममा पार्टीले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिकन एकल उम्मेदवारी दिने निर्णय भएको ती नेताले बताए । माओवादी र कांग्रेसले एक्ला–एक्लै बैठक राख्ने र समाजवादीलाई छायामा राख्ने रणनीति लिएपछि पार्टीले छुट्टै बाटो अपनाउने तयारी गरेको उनले बताए ।

    पार्टीले सम्भवतः जेठ पहिलो सातादेखि नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वासको प्रस्ताव प्रदेश सभामा टेबल गर्ने समाजवादीका नेताको दाबी छ ।

    ‘हामीले केन्द्र गठबन्धनलाई प्राथमिकतामा राख्यौं । गठबन्धनलाई नै बलियो बनाउन तल्लीन भयौं । सहेर बस्न सकिन्न। हामीलाई मात्रै गठबन्धन चाहिएको होइन । यसमा कांग्रेस र माओवादी इमान्दार नभए हामी तुरून्तै एक्सनमा जान्छौं,’ ती नेताले भने ।

    गत चैत २५ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पाँचौ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
    केन्द्रको पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिन भट्टले प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराएको बताएका थिए ।

    जसमा नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रण बहादुर रावलले आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहराले सामाजिक विकास मन्त्री र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्रीमा रूपमा सपथ लिएका थिए ।
    कांग्रेसलाई सरकारमा सहभागी गराउन एकीकृत समाजवादीले तीन जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

    फिर्ता हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकासमन्त्री रहेका लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री रहेकी मना कुमारी साउद थिए । एकीकृत समाजवादीले उनीहरूलाई कांग्रेस र माओवादी एकलौटी निर्णय गरेर फिर्ता हुन बाध्य गरेको नेकपा एसको दाबी छ ।

    यस्तै, समाजवादीबाटै आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको थियो भने उनको ठाउँमा अढाई वर्षअघि राज्य मन्त्रीबाट राजीनामा दिएका समाजवादीका प्रकाश रावल नियुक्त भएका थिए । यसअघि रावल किर्ते गरेको मुद्दा लागेपछि सरकारबाट बाहिरिएका थिए ।

    यसअघि भौतिक पूर्वाधार विकासका राज्यमन्त्री रहेकी चुनकुमारी चौधरीलाई फिर्ता बोलाई एकीकृत समाजवादीले उनको ठाउँमा कुलवीर चौधरीलाई पठाएको थियो । यसअघि अर्थ राज्यमन्त्री रहेकी माया तामाङ बोहरालाई फिर्ता बोलाई समाजवादीकै अमर साउद नियुक्त भएका थिए ।

    सुदूरपश्चिम प्रदेश सभाका एकीकृत समाजवादीका १४, माओवादीको १३, कांग्रेसका १२ र एमालेका ११ जना सांसद छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र जसपाका गरी १÷१ जना सासंद छन् । प्रदेशमा मन्त्री पद गएपछि नेकपा एस अहिले तनावमा छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend