logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

    पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

    2.5K
    Shares
    पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

    गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ ।

    विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो ।

    तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

    समारोहमा प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा विशिष्ट योगदान पु¥याउने बताउनुभयो । विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्ने उनको भनाइ छ ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थल सञ्चालनमा सरकारले सघाउने बताए । नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत विमानस्थलसँग जोड्नुपर्ने उनले बताए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल गण्डकी प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि सङ्घ सरकारको उहाँले ध्यानाकर्षण गराए ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको बताउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए । विमानस्थल सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकामा जोड दिँदै उनले विमानस्थल सञ्चालनमा समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्यान्डफिड साइडको व्यवस्थापन गरिएको बताए ।

    विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए ।

    पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखे बताउँछन् ।

    विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो आगामी दिनमा व्यस्त विमानस्थलका रुपमा चल्नुपर्ने बताउँछन् ।

    चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

    अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै विमानस्थल सञ्चालन आउनुले यसले पोखराको पर्यटनमा विशेष अर्थ राख्ने पर्यटन व्यवसायीहरू बताउँछन् । विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका पूर्वाधारको विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए ।

    “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय हो”, उनले भने, “यसको अधिकतम उपयोग हुने किसिमको वातावरण तयार गरिनु आवश्यक छ ।”

    तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।

    उद्घाटनमा हजारौँको सहभागिता

    पाँच दशकदेखिको सपना पूरा भएको भन्दै आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा हजारौँ पोखरेली सहभागी भएका छन् । पोखरा महानगरपालिकाको आयोजनामा पोखराको अमरसिंह चौरबाट विमानस्थलसम्म बाजागाजासहित विभिन्न जातजातिको वेशभूषामा सर्वसाधारणहरू सहभागी भएका थिए ।

    विमानस्थल पोखरेलीको गौरव भएको भन्दै पोखरा महानगरपालिकाले आज उद्घाटन समारोहलाई भव्य बनाउने लक्ष्यका साथ ३३ वटै वडा र मातहतका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरेको थियो । उद्घाटन समारोहमा विमानस्थलको परिकल्पनाकार शङ्करराज पाठकलगायत विमानस्थल निर्माणमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई प्रधानमन्त्रीले सम्मान गरे । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend