logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्पूर्ण माओवादी घटकहरु एकतावद्ध हुन आवश्यक छ : प्रधानमन्त्री दाहाल

    सम्पूर्ण माओवादी घटकहरु एकतावद्ध हुन आवश्यक छ : प्रधानमन्त्री दाहाल

    2.2K
    Shares
    सम्पूर्ण माओवादी घटकहरु एकतावद्ध हुन आवश्यक छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

    आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।

    उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले आफुले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए ।

    उनले भने – ‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रुपमा अगाडी आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ति सबै भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । हामी सबैले सबैका अनुभवलाई, मैले भन्ने गरेको छु अहिले यहाँ बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ ।

    यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन । मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भिरताका साथ भनेको छु हामी तपाईले हासिल गरेका सफलता, या तपाईले अनुभव गरेका तीता, मीठा ति सबै मेरा पनि हुन् । मैले जे अनुभव गरिराखेको छु यो ठाउँमा बसेर त्यहाँ भएका तीता, मीठा राम्रा नराम्रा तपाईका पनि हुन् । बाबुरामजी र म त कुरा गर्दै धेरै अगाडी बढीपनि राखेका छौँ । धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ । हाम्रा सबैका साझा अनुभव, यसलाई तैँले र मैले भन्ने ढंगले नहेरीकन हामी आन्दोलनको प्रवाहको क्रममा, विकासको क्रममा विभिन्न भंगालामा गएपनि अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महशुस ग¥यौँ भने सबै अनुभवलाई आफ्नो अनुभवको रुपमा, सबै सहिदलाई जनताका शहीदको रुपमा सम्मान गर्ने उदात्त विचार र भावनाबाट अगाडी बढ्यौँ भने हाम्रो एकतालाई कसैले नि रोक्न सक्दैन भन्ने मेरो बुझाइ छ ।’

    प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताए । उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए । आफुहरु एक हुनु नै शहीद र बेपत्ता योद्धाहरुप्रति इमान्दार भएको ठहरिनु हुने उनको भनाई छ ।

    उनले भने– ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले दबाब र घेराबन्दीको बिरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु आजभोली । पहिलेजस्तो छैन घटनाक्रमहरु । सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरुप्रति इमान्दार भएको ठहरिन्छ ।’

    उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend