logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • निर्वाचनको परिणाम आएपछि मात्रै राष्ट्रपतिले शीतलनिवास छोड्ने

    निर्वाचनको परिणाम आएपछि मात्रै राष्ट्रपतिले शीतलनिवास छोड्ने

    2K
    Shares
    निर्वाचनको परिणाम आएपछि मात्रै राष्ट्रपतिले शीतलनिवास छोड्ने

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचनकाे परिणाम आएपछि मात्रै  शीतलनिवास छोड्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने तयारी गरेकी छिन् ।

    शीतलनिवास छाडेपछि राष्ट्रपति भण्डारी बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको आफ्नै निवासमा सर्ने भएकी छिन् । अहिले राष्ट्रपति भण्डारीको निजी निवासमा रंगरोगन गरेर चिटिक्क पारिंदै छ ।

    संविधानले फागुन २८ गतेसम्म राष्ट्रपतिको कार्यकाल तोकेको छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा पनि सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने संबैधानिक व्यवस्था छ ।

    आज मध्यरातिदेखि मौन अवधि सुरु

    निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

    निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

    आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

    आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend