logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • टीकापुर नगर विकास समितिको जग्गा हिनामिना, २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    टीकापुर नगर विकास समितिको जग्गा हिनामिना, २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    975
    Shares
    टीकापुर नगर विकास समितिको जग्गा हिनामिना, २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले आज उनीहरुविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीको संलग्नतामा नगर विकास समितिका प्लट÷घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले छानबिन थालेको थियो ।

    टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष  तथा संघ÷संस्थाहरुलाई  वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन २०४५ तथा नगर विकास निर्देशिका २०६१ अनुसार हुनुपर्नेमा त्यसो नभएको अख्तियारले जनाएको छ ।

    तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

    अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीविरुद्ध दुई करोड १२ लाख ४० हजार, अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकारविरुद्ध ५९ लाख तीन सय, तत्कालीन अध्यक्ष धिरज रेग्मीविरुद्ध ६६ लाख ९८ हजार, उपसमिति संयोजक गणेश सिंह रावल, खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपानेविरुद्ध एक करोड ६५ लाख रुपैयाँ बिगो तोकेको छ ।

    यस्तै तत्कालीन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक प्रेमसिंह विक; सदस्यहरु श्याम खत्री, भरत स्वाँर, वेदराज ढुंगाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालविरुद्ध ५९ लाख र तत्कालीन योजना प्रमुख बलबहादुर खडायतविरुद्ध दुई करोड ११ लाख रुपैयाँको बिगो माग भएको छ ।

    यस्तै तत्कालीन सदस्य सचिव अम्बादत्त जोशीविरुद्ध दुई करोड ३० लाख, नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख, मालपोत अधिकृत जयबहादुर विष्टविरुद्ध एक करोड ६८ लाख, खरिदार धनिराम भण्डारीविरुद्ध एक करोड ८६ लाख, सबओभरसियर नेत्रबहादुर रावलविरुद्ध एक करोड ७९ लाख रुपैयाँ बिगो र जरिबाना मागसहित मुद्दा दायर भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend