२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

झापामा ९ महिनामा ७ करोडको सौर्य विद्युत् उत्पादन

शनिवार , कार्तिक २४, २०८१

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।

शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए ।

कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले एक करोड १९ लाख सात हजार सात सय ८१ युनिट विद्युत् उत्पादन गरेको उनले जानकारी दिए ।

परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

हिउँदभन्दा वर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ । “हिउँदमा अधिकतम् दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ”, कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भने, “तर, वर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ ।”

प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी–४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् ।

प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा रु ८७ करोड लगानी भएको छ । त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले रु ६२ करोड ऋण लगानी गरेका छन् । जनस्तरबाट पूँजी सङ्कलन गरी स्थापना गरिएको झापा इनर्जी लिमिटेडमा विद्युत् उत्पादन गर्ने एकमात्र परियोजना हो । यसमा आठ सय सर्वसाधारणको रु ५० हजारदेखि रु ५० लाखसम्म शेयर लगानी रहेको छ ।

परियोजनामा दुई इञ्जिनियरसहित १२ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । विद्युत् उत्पादन प्रणाली स्वचालित भए पनि परियोजनास्थलको रेखदेख र आवश्यक मर्मत सम्भारका लागि कर्मचारी दिनरात खटिने गरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट