logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौं : मन्त्री यादव

    सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौं : मन्त्री यादव

    511
    Shares
    सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौं : मन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् ।

    शनिबार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गरे । उनले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरे । उनले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताए ।

    गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भएपनि सरकारले नछोड्ने बताए । जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गरे । उनले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताए ।

    वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने बताए । ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भएपनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताए । उनले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै बिरोध गर्नेहरु सफल नहुने बताए ।

    उनले सरकारले भनेको काम पूरा गरिरहेको र काठमाडौं उपत्यकावासीलाई दशैँअघि नै पानी खुवाउन सफल भएको दाबी गरे ।

    उनले भने, ‘पत्रकारको बीमाको कुरा छ । अहिलेको युगमा पत्रकारको बीमा नहुनु दुर्भाग्य हो । त्यसकारणले गर्दा नेपाल सरकारले नै पहल गरेर फोटो पत्रकारको बीमा गराइदिनुपर्छ । त्यसको लागि म पूर्ण रुपले पहल गर्नेछु । त्यसको लागि म प्रीतवद्धता जनाउन चाहन्छु । यसले आंशिक रुपमा समस्याको समाधान हुनसक्छ । डिजिटल युगमा क्यामेरा र ल्यापटपकै जरुरी छ ।

    यो युगमा तपाईंहरुको आवश्यकतामा नेपाल सरकारले साथ दिनेछ । सरकार सधैँ मिडियाको साथमा रहनेछ । अहिलेको सरकारले देशको लागि राम्रो सन्देश दिन खोजेको छ । राम्रो काम गर्न खोजेको छ । देशमा सहकारी पीडित नागरिक धेरै भएका छन् । सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ ।

    त्यसको निमित्त अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ । त्यसमा तपाईंहरुको साथ र सहयोग चाहेका छौँ । गल्ती गरेको छ भने ठूलो राजनीतिक व्यक्ति पनि पर्छ । जुनकुनै पार्टीको भएपनि गल्ती गर्ने कानूनी दायरामा आउँछ । यसमा इफ बट छैन । यहाँ जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेका छन् ।

    तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ । ६ सय भन्दा बढी सहकारी ठगहरुलाई अहिले प्रहरी कस्टडीमा पु¥याइसकेको छ । सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउँछ ।’

    साधारण सभाले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्तलाई निर्विरोध चयन गरेको छ । फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् । केन्द्रिय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend