logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • १ अर्ब ६५ करोडमा चारतारे मोक्सी होटल बन्दै, जेठमा सञ्चालनमा ल्याउने तयारी

    १ अर्ब ६५ करोडमा चारतारे मोक्सी होटल बन्दै, जेठमा सञ्चालनमा ल्याउने तयारी

    1K
    Shares
    १ अर्ब ६५ करोडमा चारतारे मोक्सी होटल बन्दै, जेठमा सञ्चालनमा ल्याउने तयारी

    काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरुले होटलमा लगानी बढाइरहेका छन् । राजधानीलगायत मुलुकका प्रमुख सहर र पर्यटकीय गन्तव्यहरुमा तारेस्तरका होटल र रिसोर्ट खुल्ने क्रम बढिरहेको छ ।

    उत्पादनमुलक क्षेत्रमा लगानी गरेका व्यवसायिक घरनाहरुले अहिले होटलमा सम्भावना देखेर ठूलो लगानी खन्याइरहेका छन् । व्यवसायी घरनाहरुले अहिले धमाधम विभिन्न तारे होटल र रिसोर्टहरु बनाइरहेका छन् ।

    उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्दै आएको व्यावसायिक घराना एमएस ग्रुप पनि पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा आक्रमक रुपमा लगानी बढाइरहेको छ । ग्रुपले राजधानीको नक्सालमा पाँचतारे मेरियट होटल सञ्चालन गरिरहेको छ ।

    ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटल पनि सञ्चालनमा छ । तीन तारे स्तरको फेयरपिल्डको व्यवस्थापन मेरियटले गरिरहेको छ ।

    यस्तै ग्रुपले राजधानीमा नयाँ अवधारणामा कमलादीमा चारतारे होटल बनाइरहेको छ । होटलको पूर्वाधार निर्माण भइरहेको छ । आउँदो मे (जेठ) भित्र होटल सञ्चालनमा ल्याउने गरी काम भइरहेको ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले सुनौलो नेपाललाई जानकारी दिए ।

    १ सय कोठा रहेको होटल बनाउन १ अर्ब ६५ करोड रुपैयाँ लगानी हुने उनले जानकारी दिए । पहिला १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पछि बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

    म्यारियट अन्तर्गतकै मोक्सी ब्राण्डमा होटल सञ्चालन हुने भएको छ । होटल पूर्वाधार २ रोपनी क्षेत्रफलमा रहने उनले सुनाए । मोक्सी होटलमा युवापुस्तालाई लक्षित गरिएको छ ।

    होटल कमलादीको प्रज्ञा भवनको ठ्याक्कै पछाडी निर्माणाधीन अवस्थामा छ । अहिले होटल भित्रको काम फिनिसिङ हुँदै छ । होटल युवा माहोलको आधारमा निर्माण गर्ने उनको भनाई छ ।

    होटल गीत संगीतको मज्जा लिन र दिनभरी रमाइलो गर्न बनाउन लागेको हो । युवा पुस्तालाई बढी फोकस गरेर कमलादीमा नयाँ होटल बनाउन लागिएको अग्रवालले जानकारी दिए ।

    मोक्सी होटल युवा पुस्तामा लोकप्रिय छ । यो होटल अन्य होटलभन्दा विल्कुलै फरक हुनेछ । होटलभित्र पस्ने बित्तिकै बार देखिन्छ । बारमै रजिष्टर गर्ने, त्यही रमाइलो गरेर रुममा गएर सुत्ने गरी संरचना बनाइएको हुन्छ ।

    मोक्सी होटल ब्राण्डलाई काठमाडौंमा भित्र्याउन मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी एण्ड होटलबीच सम्झौता भएको छ ।

    ग्रुपअन्तर्गत एभरेष्ट सुगर एन्ड केमिकल्स लिमिटेड, हिमालय सुगर मिल्स लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र भगवती स्टिल इन्डष्ट्रिज प्रालि सञ्चालनमा छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend